होमपेज » समाचार » निषेधाज्ञामा चार्टड तथा उद्धार उडान सञ्चालन हुने

निषेधाज्ञामा चार्टड तथा उद्धार उडान सञ्चालन हुने

मंगलवार, २१ बैशाख २०७८, ११:५५

काठमाडौँ,
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच भने सातामा दुई हवाई उडान हुनेछ ।

 

दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।

 

यस अवधिमा चार्टर्ड तथा उद्धार उडान भने सञ्चालन हुने क्यानले जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने बताए ।

भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन् । भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । मन्त्रिपरिषद्ले हवाई उडानसम्बन्धी पाँच बुँदे निर्णय गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु साताको दुईवटामा सीमित गर्ने निर्णय भएको छ ।

 

त्यस्तै कुनै पनि उडानमा पिसिआर पोजिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले बेहोर्ने व्यवस्था गरिनेछ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।