होमपेज » हेडलाइन » कृषिमा युवा आकर्षण बढाउँदै हेटौँडा उपमहानगरपालिका

कृषिमा युवा आकर्षण बढाउँदै हेटौँडा उपमहानगरपालिका

शनिबार, २ श्रावण २०८३, १५:४६

हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषि क्षेत्रमा जोड गर्दै उत्पादन बढाउने उद्देश्यले नयाँ तथा प्रभावकारी कार्यक्रमहरू अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख राजेश बानियाँले युवालाई स्वरोजगार बनाउने र कृषिमा आत्मनिर्भरता बढाउने योजनाहरूलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभएको हो । विशेषगरी सिँचाइ विस्तार, माटोको गुणस्तर सुधार र आयातित बीउको विकल्पमा स्वदेशी बीउ उत्पादनलाई उपमहानगरले आफ्नो मुख्य रणनीतिका रूपमा लिएको छ ।

 

काठमाडौं ।  कृषि उत्पादनको मुख्य आधार माटो भएको निष्कर्षसहित उपमहानगरले माटो सुधार अभियानलाई तीव्रता दिएको छ । यसअन्तर्गत माटोको परीक्षण गरी अम्लीयपन घटाउन किसानलाई पचास प्रतिशत अनुदानमा कृषि चुन उपलब्ध गराइएको छ । यसका अतिरिक्त प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालासँगको समन्वयमा ४० मेट्रिक टन चुन निःशुल्क वितरण गरिएको उपप्रमुख बानियाँले स्पष्ट पार्नुभयो । किसानको आयआर्जन उकास्न परम्परागत खेतीसँगै आधुनिक फलफूल खेतीलाई पनि प्रवर्द्धन गरिएको छ । जसअन्तर्गत कृषक समूह र सहकारीहरूको सहभागितामा विभिन्न पाँच स्थानमा लिची, केरा, ड्रागन फल र एभोकाडोजस्ता नगदे फलफूलको व्यावसायिक खेती विस्तार भइरहेको छ ।

 

पछिल्लो समय विदेशी तथा हाइब्रिड बीउमा परनिर्भरता बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै हेटौँडाले आफ्नै मौलिक र खुला सेचित जातका बीउ उत्पादनलाई प्रोत्साहन गर्ने उदाहरणीय नीति लिएको छ । यस योजनाअन्तर्गत सात सय ५० कट्ठा क्षेत्रफलमा रामपुर कम्पोजिट जातको मकै तथा पन्ध्र कट्ठामा मकवानपुर–१ र दश कट्ठामा राम जातको धानको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । बीउबिजनको सुरक्षासँगै कृषिका लागि अति आवश्यक सिँचाइ सुविधा विस्तार गर्न नयाँ संरचना निर्माण र पुराना पूर्वाधारको मर्मतसम्भारमा समेत बजेटले विशेष व्यवस्था गरेको छ ।

 

स्थानीय स्तरका आफ्नै कार्यक्रमबाहेक सङ्घीय सरकारबाट हस्तान्तरण भई आएका कृषिका विशेष कार्यक्रमहरूलाई पनि उपमहानगरले प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ । जसअन्तर्गत वडा नम्बर १७ मा रहेको श्री साना किसान कृषि सहकारी संस्थामार्फत तीन सय कट्ठा क्षेत्रफलमा विशेष धान पकेट कार्यक्रम सञ्चालनमा रहेको छ । यी समग्र कार्यक्रमहरूमार्फत हेटौँडालाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै युवाहरूलाई स्वदेशमै व्यावसायिक कृषि गर्ने वातावरण तयार गर्ने अपेक्षा उपमहानगरले राखेको छ ।