काठमाडौं । ठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि प्रहरीले कडा निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ। यसै क्रममा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न सडकखण्डबाट ५२१ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार सडक अनुशासन कायम गर्न गरिएको नियमित जाँचका क्रममा उनीहरूलाई नियमअनुसार कारबाही गरिएको हो। कारबाहीमा पर्नेहरूमा विशेषगरी तीव्र गतिमा सवारीसाधन हाँक्ने र मादक पदार्थ सेवन (मापसे) गरी ज्यान जोखिममा राखेर सवारी चलाउनेहरूको सङ्ख्या उल्लेखनीय रहेको छ।
प्रवक्ता सुवेदीले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो एक दिनमा मात्रै तीव्र गतिमा सवारी हुइँक्याउने ६६ जना र मापसे गरेर सवारी चलाउने ३० जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ। त्यसैगरी, नो हर्न क्षेत्रमा हर्न बजाउने ३२ जना, ट्राफिक सङ्केत तथा बत्तीको बेवास्ता गरी नियम मिच्ने २६ जना र सडक तथा फुटपाथमा जथाभावी पार्किङ गर्ने १९ जना चालक पनि कारबाहीको दायरामा आएका छन्।
यसका साथै, यान्त्रिक गडबडी भएका सवारीसाधन चलाउने १२ जना, सवारीसाधनको अवस्था ठीक नराखी सडकमा निकाल्ने सातजना र एकतर्फी (वन–वे) नियम उल्लङ्घन गर्ने छ जना चालकलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। यीबाहेक अन्य विविध ट्राफिक नियम पालना नगर्ने सबैभन्दा धेरै अर्थात् ३२३ जना चालक पनि पछिल्लो २४ घण्टाको अवधिमा कारबाहीमा परेको कार्यालयले जनाएको छ।










