होमपेज » हेडलाइन » मुस्ताङको घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङको घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

बुधबार, ३१ असार २०८३, ११:३५

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङद्वारा अगाडि बढाइएको यस पुलको निर्माण सम्झौता अवधिभन्दा अगावै सकिएको हो । यससँगै घरपझोङ गाउँपालिकाका पाँचवटै वडालाई जोड्ने चक्रपथ पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

 

पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार दुई वर्षभित्र काम सक्ने लक्ष्यसहित सुरु गरिएको यस पुल आगामी साउन २० गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, निर्माण कम्पनीको तदारुकताका कारण तोकिएको समयसीमा अगावै काम पूरा भएको हो । रु चार करोड ४६ लाखको लागतमा निर्माण भएको एक स्पानको यस पुलको लम्बाइ ३५ मिटर र फुटपाथसहितको चौडाइ ८ दशमलव ४ मिटर रहेको छ । पुल निर्माणको जिम्मा अमित अशेष जेभी कन्स्ट्रक्सनले पाएको थियो । निर्माण सम्पन्न भएको यस पुललाई एक वर्षको परीक्षण अवधिसहित सम्बन्धित कार्यालयलाई हस्तान्तरण गर्ने अन्तिम तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईले जानकारी दिनुभयो ।

 

पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेका अनुसार पुल निर्माणसँगै विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको घरपझोङ चक्रपथ सडकको काम पनि चालु आर्थिक वर्षमै सम्पन्न भएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै पर्यटकीय गन्तव्य ढुम्बा ताल, छैरो, मार्फा, स्याङ र जोमसोम जोड्ने १० दशमलव ५ किलोमिटर लामो चक्रपथको निर्माण कार्य पूरा भइसकेको छ । ठिनी खोलाको पुल अभावमा पूर्ण हुन नसकेको उक्त सडकखण्ड अब भने पूर्ण रूपमा सञ्चालनमा आएको छ, जसले गाउँपालिकाभित्रको आवतजावतलाई निकै सहज र छिटो बनाएको छ ।

 

विगतमा ठिनी खोलामा पक्की पुल नहुँदा विशेषगरी वर्षायाममा स्थानीय बासिन्दा र पर्यटकले खोला तर्न निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो । अब भने बाह्रै महिना सवारीसाधन सञ्चालन हुने सुनिश्चित भएको छ । यो पुल सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गरेर फर्कने पर्यटकहरूलाई चर्चित ढुम्बा तालको अवलोकन गर्न जान थप सहज भएको छ । यसका साथै, ढुम्बा, स्याङ र सम्लेलगायतका ग्रामीण भेगका किसानहरूलाई आफूले उत्पादन गरेका कृषि उपजहरू सिधै बजारसम्म पुर्‍याउन सजिलो हुने र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।