काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले “युवा मस्तिष्क र इन्जिनियरिङ: समृद्ध नेपालको निर्माण” भन्ने मूल नाराका साथ भोलि साउन ३ गते आइतबार ६४औँ इन्जिनियर्स दिवस भव्य रूपमा मनाउने तयारी पूरा गरेको छ । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना हुने यस विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ ।
दिवसको अवसरमा बिहान १० बजेदेखि विभिन्न प्राविधिक सत्रहरू सुरु हुनेछन् । १०:३० बजे हुने मूल प्राविधिक सत्रमा समृद्ध नेपाल निर्माणका लागि युवा इन्जिनियरहरूको भूमिका र इन्जिनियरिङ क्षेत्रका समसामयिक विषयमा गहन छलफल हुनेछ । नेपाल इन्जिनियरिङ परिषद् तथा विभिन्न पेसागत संस्थाहरूको सहकार्यमा सञ्चालन हुने यी सत्रहरूमा भवन संहिता, भू-प्राविधिक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण, ऊर्जा सुरक्षा र पुल इन्जिनियरिङजस्ता राष्ट्रिय महत्त्वका विषयहरूमा विज्ञहरूले आफ्नो धारणा राख्नेछन् ।
दिउँसो ३ बजेबाट सुरु हुने मुख्य समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विशेष सम्बोधन गर्नुहुनेछ । सोही समारोहमा इन्जिनियरिङ क्षेत्रमा विशिष्ट योगदान पुर्याउने १० जना उत्कृष्ट इन्जिनियरहरूलाई राष्ट्रपति पौडेलले सम्मानपत्र र मेडलद्वारा पुरस्कृत गर्नुहुनेछ ।
इन्जिनियरिङ पेसाको गरिमालाई उच्च राख्दै युवा पुस्तालाई राष्ट्र निर्माणको अभियानमा थप ऊर्जावान् बनाउने उद्देश्यले एसोसिएसनले यस वर्षको दिवसलाई विशेष महत्त्व दिएको छ । दिनभरका प्राविधिक बहस र सम्मान कार्यक्रमपश्चात् साँझ विभिन्न सांगीतिक ब्यान्डहरूको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।










