होमपेज » समाचार » बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा ५ जना कोरोना संक्रमितको मृत्यु

सोमबार, २७ बैशाख २०७८, ११:४५

बुटवल । बुटवलमा उपचार गर्ने समयमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देही, कपिलवस्तु र दाङका एक–एकजना हुन् ।

 

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा–२ का ५६ वर्षीय पुरुषको आइतबार राति ९ः ५० बजे मृत्यु भएको हो ।

 

यस्तै कोरोना विशेष अस्पतालमा बैशाख १७ गते भर्ना भएका कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको आइतबार राति ८ः३० बजे र सोही अस्पतालमा वैशाख १८ गते भर्ना भएका दाङ तुल्सीपुर–५ की ३७ वर्षिया महिलाको आइतबार राति १०ः०७ बजे मृत्यु भएको हो ।