काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेदेखि आज बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पूर्वका छन् ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगञ्ज–१० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, बाँकेकै खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुषको आज बिहान ४ बजे, बाँकेको जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिलाको आज बिहान ४ बजे नै मृत्यु भएको छ ।
यस्तै, कोहलपुर– ८ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सोमबार राति ७ः१५ मा र खजुरा– २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमै सोमबार राति ११ः१० बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
यस्तै, भेरी अस्पतालमा वैशाख २६ गतेबाट उपचाररत सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुषको सोमबार राति ८ बजे मृत्यु भएको छ ।
बाँकेमा जिल्ला भित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।










