होमपेज » समाचार » खालको हिसाबले रकम लैजाने गरेको दावी, ११ लाख रुपैयाँ नगदसिहत २५ जुवाडे पक्राउ

खालको हिसाबले रकम लैजाने गरेको दावी, ११ लाख रुपैयाँ नगदसिहत २५ जुवाडे पक्राउ

बुधबार, २९ बैशाख २०७८, ११:०२

काठमाडौं । काठमाडौंबाट झन्डै ११ लाख रुपैयाँ नगदसहित २५ जना जुवाडेहरु पक्राउ परेका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका बेला होटेलमा बसेर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट १० लाख ९७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट २५ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

 

उक्त होटलमा लकडाउनमा मात्रै होइन पहिले देखि नै पेशेवर रूपमा जुवा संचालन हुँदै आएको थियो । जुवा संचालक र होटल मालिकले नजिकैको सिआरभी र प्रहरी वृत्त लैनचौरका घुमुवा प्रहरीलाई मिलाएर जुवा खेलाउदै आएका थिए ।

 

घुमुवाले वृत्तका डिएसपी र मुद्दाका प्रमुखको नाममा समेत खालको हिसाबले रकम लैजाने गरेको सधैं जसो खेल्न जाने तर यसपटक पक्राउ नपरेका एक पेशेवर जुवाडेले सार्वजनिक गरेपछि उक्त होटलमा सधै जसो जुवा हुनेगरेको उजागर भएको हो । अहिले भने होटल र जुवा संचालकले घुमुवाहरूलाई दिनुपर्ने रकम पनि नदिएको र जुवाबाट प्राप्त रकम पनि सिनियर केही अधिकृतले नपाए पछि छापा हानेको हुनसक्ने ती जुवाडेले दावी गरे ।

 

पक्राउ पर्नेमा काठमाडौं–१६ बस्ने होटल सञ्चालक पिताम्वर गौतम, भारतको ओडिसा घर भइ काठमाडौंको लगनटोल बस्ने ४८ वर्षीय कानु प्रधान, काठमाडौं–१६ बस्ने ३७ वर्षीया रञ्जना ढकाल, काभ्रेको बनेपा घर भइ काठमाडौंको नयाँबजार बस्ने ४७ वर्षीय पुरुषोत्तम न्यौपाने, महोत्तरीको लोरपटि–२ घर भइ काठमाडौं बस्ने ३८ वर्षीय मनोज कुमार मण्डल छन् ।

 

यस्तै, बझाङको दुर्गाथली गाउँपालिका– ७ घर भइ काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय उमेश विक, काभ्रेको पाँचखाल–३ घर भइ काठमाडौंको सितापाइला बस्ने ४५ वर्षीय ४५ वर्षीय विजय कार्की, चितवनको भरतपुर–११ घर भइ काठमाडौं–७ बस्ने ४७ वर्षीय जगत बहादुर गुरुङ, मोरङको कानेपोखरी गाउँपालिका–२ भर भइ काठमाडौं–२६ बस्ने ४० वर्षीय नविन्द्र कुमार गुरुङ पनि जुवा खालबाट पक्राउ परेका छन् ।