होमपेज » समाचार » महामारीको संकटमा बजेटको तयारीमा अर्थमन्त्रालय

महामारीको संकटमा बजेटको तयारीमा अर्थमन्त्रालय

शुक्रबार, ३१ बैशाख २०७८, १३:००

काठमाडौं । मुलुक अहिले दोस्रो लहरको कोरोना महामारीसँग जुधिरहेको छ । संक्रमितले उपचारका लागि अस्पतालमा बेड पाएका छैनन् । बेड पाउनेले पनि अक्सिजन पाउन सकेका छैनन् । यहीबेला अर्थ मन्त्रालय भने १५ जेष्ठमा ल्याउने बजेटको तयारीमा जुटेको छ ।

 

जेष्ठ १५ को दिन संघीय सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेट आउने छ । यो वर्ष पनि बजेट भने महामारीको अर्थतन्त्रमा परेको प्रभावबारे विस्तृत अध्ययन र पूर्वानुमानबिना नै बन्ने छ । किनकि अर्थ मन्त्रालयले बजेटको तयारी थाल्नुअघि अर्थतन्त्र सामान्य अवस्थामा थियो । मन्त्रालयहरूले सोही अनुसार कार्यक्रम र बजेट बनाएर अर्थमा पठाएका थिए ।

तर, पछिल्लो दुई सातायता अत्याशलाग्दो गरी बढेको महामारीले अर्थतन्त्रमा पुनः नराम्रोसँग धक्का पु¥याएको छ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य भने बजेट महामारी नियन्त्रण तथा यसको अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरणमै केन्द्रित हुने बताउँछन् ।

 

यद्यपि कोरोनाको दोस्रो लहर कतिसम्म जाने र अर्थतन्त्रमा कति गहिरो प्रभाव पार्ने छ भन्ने पूर्वानुमान भने गर्न नसकिने उनी बताउँछन् । ‘महामारीबाट माथि उठ्दै अर्थतन्त्र चलायमान बनाउनुपर्ने चूनौति छ,’ उनी भन्छन्, ‘बजेट सोही लक्ष्यमा केन्द्रित हुनेछ ।’