काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ४९.४७ प्रतिशतले घटेको वित्तीय विवरण सर्वजनिक गरेको छ । कम्पनीको बीमाशुल्क बढेपनि नाफा भने घटेर २७ करोड १२ हजार रुपैयाँमा सिमित भएको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५३ करोड ४३ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १०.८५ प्रतिशतले बढेर १९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क बढेपनि अन्य आम्दानी घटेपनि नाफामा संकुचन देखिएको हो । कम्पनीको लागनी कर्जा तथा अन्य आय ३८.८० प्रतिशतले घेटर १० करोड ५५ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १७ करोड २४ लाख रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत १३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण कम्पनी लगानी कर्जा तथा अन्य आम्दानी घटेको कम्पनीले जनाएको छ ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १० करोड रुपैयाँ, बीमा कोषमा २ अर्ब ३८ करोड रुपैयाँ सञ्चित छ ।
यस अवधिसम्ममा कम्पनीले ३९ हजार ६२८ वटा बीमालेख जारी गरी १ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ हजार ७२१ वटा दाबी वापत १४ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।










