होमपेज » हेडलाइन » सांसदलाई खोप छ, जनतालाई छैन खोप

सांसदलाई खोप छ, जनतालाई छैन खोप

शुक्रबार, ३१ बैशाख २०७८, १४:३२

सांसदहरुले पाए कोभिसिल्ड खोपको दोस्रो डोज, जनताले कहिले पाउने टुंगो छैन
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिसिल्डको दोश्रो डोज लगाएका हुन् ।

 

संसद सचिवालयले नयाँ बानेश्वर स्थिति संघीय संसद भवनको ल्होत्से हलमा आज शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको छ ।

 

शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरूका निजी सचिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

 

ल्होत्से हलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिसिल्डको दोस्रो खोप लगाएका छन् ।

 

बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने सचिवालयले जनाएको छ । त्यसैगरी भोली शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु, अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँ बानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोस्रो डोज लगाइने छ ।

 

दोस्रो प्राथमिकतामा परेका सर्वसाधारणहरूले भने कहिले दोस्रो डोज लगाउन पाउने भन्नेमा अन्योल रहेको छ ।