गोरखा । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । तर अक्सिजन उत्पादन सुरु हुन भने केही दिन लाग्ने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
‘अस्पतालको नयाँ बन्दै गरेको भवनमा प्लान्ट जडान गर्नकै लागि छुट्टै कोठा बनेको छ, त्यही कोठामा प्लान्ट जडान गरेका हौं’ उनले भने ।
अक्सिजन पाइपलाइन विस्तारको काम बाँकी रहेको ढकालले बताए । ‘नयाँ भवनको बिरामी भर्ना हुने सबै वार्डमा स्थायी रुपमा पाइपलाइन जडान भइसक्यो तर, भवनको काम सकिएको छैन, त्यसैले अहिले संक्रमितको उपचारका लागि बनाइएको आइसोलेसन वार्डमा अस्थायी रुपमा पाइपलाइन जडान गरेर अक्सिजनको व्यवस्था गर्न लागेका हौं,’ उनले भने ।
प्लान्टबाट अक्सिजन उत्पादन र पाइपलाइन जडान भएपछि अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितको उपचारमा सहज हुने अस्पतालको भनाइ छ । हाल अस्पतालमा संक्रमितका लागि निर्माण गरिएको आइसोलेसनमा १४ बेड छन् र चार जना संक्रमित उपचाररत छन् ।










