होमपेज » समाचार » घरघरमा सिलिण्डर, अस्पतालमा अक्सिजनको हाहाकार

घरघरमा सिलिण्डर, अस्पतालमा अक्सिजनको हाहाकार

सोमबार, ३ जेष्ठ २०७८, १२:१४

काठमाडौं । अस्पतालहरूमा कोरोना संक्रमणबाट सिकिस्त भएका बिरामीलाई अक्सिजनको शक्त आवश्यकता छ । अक्सिजन अनिवार्य दिनुपर्ने संक्रमित बिरामीको चाप बढेपछि अक्सिजनसहितको बेड पाउदा त झन् ‘चिठ्ठै’ परे जस्तो हुने अवस्था भएको छ ।

कतिपय अस्पतालहरूले अक्सिजनको अभावले संक्रमितको भर्ना लिनै छोडेका छन् । केही अस्पतालहरूले अक्सिजन नभएको भन्दै उपचाररत बिरामीलाई नै डिस्चार्ज गरिदिएका छन् । जसका कारण कैयौं बिरामीको ज्यान समेत गएको समाचार सार्वजनिक भइसकेको छ । उपचार दिइरहेका अधिकांश अस्पतालहरूले संक्रमितका आफन्तलाई नै अक्सिजन सिलिन्डर व्यवस्था गर्न अह्राइरहेका छन् ।

कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै धेरै संक्रमितले अक्सिजनकै अभावमा ज्यान गुमाइसकेका छन् । विरामीहरू अस्पतालमा छटपटाइरहेका छन् । संक्रमितका आफन्त, परिवारका सदस्यहरू अक्सिजनको खोजीमा भौंतारिरहेका छन् ।

‘मैले अक्सिजन नपाएकै कारण मामा गुमाएँ । भाउजु र भतिजलाई पनि संक्रमण पुष्टि भएपछि एउटा ल्याएर घरमा राखेको छु । हामीलाई घरमा नराख भन्नका लागि त आवश्यक परेको बेला दिनसक्छु भनेर ग्यारेन्टी पनि गर्नुप¥यो नि । सरकार आफू रमिते बन्ने, हाम्रो ज्यान ज्यान हैन ?’
सामाजिक सञ्जाल अक्सिजनसहितको बेड, आईसियू, भेन्टिलेटरको आवश्यकता परेको भन्दै सहयोगको अपिल गरिएका पोस्टहरूले भरिन थालेका छन् । अक्सिजन अभावको अवस्थाले आत्तिएका नागरिक भने ‘भोलि कस्तो अवस्था पो आइलाग्ने हो’ भन्ने मनोविज्ञानका कारण सिलिन्डर खोज्दै घरमा राख्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न, भएका सिलिन्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउन सार्वजनिक आह्वान गरिरहेको छ ।