होमपेज » हेडलाइन » कोरोना संक्रमणको उच्च विन्दुमा बाँके

कोरोना संक्रमणको उच्च विन्दुमा बाँके

मंगलवार, ४ जेष्ठ २०७८, १६:३५

काठमाडौं । दोस्रो लहरको सुरुमै हटस्पट बनेको बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको पछिल्ला तथ्यांकले देखाएको छ ।

वैशाख १ यता बाँकेमा मात्र १० हजार ६५१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार ७८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । बाँकेकका मात्र १८२ जनाको मृत्यु भएको छ । अस्पतालहरु संक्रमितले भरिएका छन् । भेरी अस्पतालमा २२८ जना र नेपालगञ्ज मेडिकल कलेजमा १४० जना संक्रमित उपचाररत छन् । सयभन्दा बढी संस्थागत आइसोलेसनमा छन् ।

 

हरेक दिन नयाँ संक्रमित पनि त्यति नै थपिएको छ । वैशाख २६ यताको तथ्यांकलाई हेर्ने हो भने कोरोना संक्रमणदर ७० प्रतिशत भन्दामाथि नै रहेको देखाउँछ । जस्तो, जेठ २ गते ११०७ नमुना परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भयो । संक्रमण दर ७२.२२ प्रतिशत छ ।

पछिल्ला तथ्यांकहरुले संक्रमण पिकमा पुगेर स्थिर भएको आंकलन गर्न सकिने भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे बताउँछन् । उनका अनुसार अस्पतालको फिभर क्लिनिक तथा प्राइभेट क्लिनिकमा बिरामी आउने संख्यामा केही कमी आएको छ ।
‘अस्पतालका बेडहरु भरिभराउ छन् । पालटाँगेर उपचार गराउनु पर्ने अवस्था त छ,’ डाक्टर पाण्डेले भने, ‘तर केही दिन यता तुलनात्मक रुपमा भेरी अस्पतालमा बिरामी आउने संख्या कम रहेको छ ।’

 

पिकमा पुगेर स्थिरमा रहेको कोरोना संक्रमण दर अब केही दिनपछि ओरालो लाग्ने उनको अनुमान छ । ‘संक्रमण दर घटेको हो कि होइन भनेर यकिन गर्न सेरो प्रिभ्रिलेन्स सर्बे गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो अध्ययनले समुदायमा रहेका मानिसमा एन्टिबडी डेभलप भए÷नभएको थाहा हुन्छ ।’

एकसात पछि समुदायमा गएर यही वैज्ञानिक आधारमा अध्ययन गर्न उपयुक्त हुने डा. पाण्डेको सुझाव छ । अध्ययनको क्रममा समुदायका मानिसमा ६०/७० प्रतिशत इम्युनिटी पावर विकास भएको पाइए संक्रमण कम भएर जाने उनी बताउँछन् ।

 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कन्सल्टेन्ट फिजिसियन डाक्टर असीम किडवाईले पनि बाँकेमा संक्रमण पिकमा रहेको बताए । उनका अनुसार यो समय अझै केही समय रहने देखिन्छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका धेरै मानिस अझै पनि घरमै रहेको र उनीहरुले परीक्षण नगरेका कारणले पनि वास्तविक संक्रमितको संख्या बाहिर नआएको उनको भनाइ छ ।