रौतहट । तस्करीको अखडाको रूपमा चिनिएको रौतहटको रामपुरखापबाट अहिले सशस्त्रको बिओपीका सिपाही सन्तोष पट्टेलको सेटिङमा तस्करी चलिरहेको छ । उक्त बिओपीका दरवन्दी भएका निरीक्षक पंकज सिह भैंसी तस्करीको काण्ड लागेर बाहिनीमा तानिएपछि आएका देबेन्द्र रोकाले पनि तस्करी गराई रहेका छन् ।
तस्करीको सेटिङ र रकमको लेनदेन गर्ने काम यिनै सिपाही सन्तोष पट्टेलले गर्दै आएका छन् । बिओपी नजिकै घर भएका स्थानीय सिपाही पट्टेल बिगत पाँच बर्षदेखि यहाँ कार्यरत रहेका छन् ।
मिस्री काम गर्ने भनेर राखिए पनि सिपाही पट्टेलले तस्करीको सेटिङ र रकम उठाउने काम गर्दै आएको बिओपीमा कार्यरत एक असईले जानकारी दिए। पर्सा स्थित गणबाट आएका निरीक्षक रोकाले आर्थिक कारोवारको सम्पूर्ण जिम्मा सिपाही पट्टेललाई दिएको ती असईले बताए ।
सशस्त्र मुख्यालयको नीतिमा यो बिओपीमा सई दर्जाको प्रमुख बस्ने भनिएको भए पनि अहिले सम्म निरीक्षक नै कार्यरत छन् । अहिले यो नाकाबाट नेपालबाट स्याउ, रक्सी भारत तर्फ ठूलो तस्करी भइरहेको छ भने भारतबाट भैंसी रांगा, किराना सामान, कपडा र पानमसलाको तस्करी हुदै आएको छ ।
निज सिपाही पट्टेलको उजुरी वा गुनासो आए एघार नम्बर गणमा तान्ने र दुई चार दिनपछि फेरि रामपुरखापमा नै पठाउने काम गणपतिले समेत गर्दै आइरहेका छन् ।










