होमपेज » समाचार » जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

शुक्रबार, ४ असार २०७८, १६:०१

काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा आज बिहान एक युवकको मृत्यु भएको हो । सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेपछि धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो ।

 

गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान उपचारको क्रममा मृत्यु भएको हो । स्थानीयले धपाउन थालेपछि भागेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको बताइएको छ ।

 

हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा रहेका उनले पत्तो नपाएको र हात्तीले आक्रमण गरेको थियो । भारतमा मानवीय क्षति गरेपछि विराटनगर–१८ बुधनगरको भेडियारी हुँदै हात्ती बिहीबार राति १० बजेतिर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले बिहीबार चार जनालाई मारेको बुझिएको छ ।

 

मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ । नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनवर्षीको कुरेलीमा पुगेर मानवीय क्षति गराएको हो ।