होमपेज » समाचार » युरोकप फुटबलमा स्विडेनको पहिलो जित

युरोकप फुटबलमा स्विडेनको पहिलो जित

शुक्रबार, ४ असार २०७८, २०:५८

सेन्ट पिटर्सवर्ग ः स्विडेनले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १–० गोलले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो ।

 

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका थिए ।

 

स्लोभाकियाका गोलरक्षक मार्टिन डबराब्काले रोबिन माकलाई डिबक्सभित्र फल गरेपछि स्विडेनले पेनाल्टी पाएको थियो । जसलाई फोर्सबर्गले सदुपयोग गरेका थिए । जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले दुई खेलबाट चार अंक जोडेको छ ।

 

स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्विडेन समूहमा शीर्ष स्थानमा पनि रहेको छ । स्लोभाकियाको भने पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो । दोस्रो स्थानमा रहेको स्लोभाकियाले दुई खेलबाट तीन अंक जोडेको छ ।