काठमाडौं । असार १ गतेदेखि सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट २३ जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिकाले आज बाढीबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै सो गाउँपालिकाबाट ४ महिला र १९ पुरुष बेपत्ता भएको जनाएको छ ।
गत असार १ गतेदेखि सो गाउँपालिकाको वडा नं. १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोको कारण आएको बाढीले ठूलो धन जनको क्षति पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी विष्णुहरी तिमिल्सिनाले जनाएका छन् ।
प्रमुख प्रशासकीय अधिकारी तिमिल्सिनाले सार्वजनिक गरेको विवरण अनुसार बाढीले बेपत्ता हुनेहरुमा हल्दे भन्ने स्थानका बर्ष ३५का सुनिल तामाङ, बर्ष ३५ का पूर्ण तामाङ, बर्ष ५० का कामी तामाङ, उनकी ८० बर्षकी आमा नोकी तामाङ रहेका छन् ।
ज्ञानेन्द्र कक्षपतिको ट्राउट फर्ममा काम गर्ने अन्दाजी बर्ष ३५ का नाम नखुलेको एक महिला र उनका २ बर्षका एक छोरा पनि बेपत्ता भएका छन् ।
बेपत्ता हुने अन्यमा भण्डारी ट्राउट फर्म किउलका बर्ष ३१ मा माधव भण्डारी, चुरेटार १ का ४२ बर्षका गणेश ज्योति, भण्डारी ट्राउट फर्ममा काम गर्ने बर्ष २३ का सुरेन्द्र नेपाल र पाल्चोक सेराक बर्ष ६६ बर्षकी दिकुमारी खड्का रहेकी छिन् ।
यसैगरी जय बागेश्वरी ट्राउट फर्ममा काम गर्ने बर्ष ५० का च्याङ्बा तामाङ, उनकी ४५ बर्षकी श्रीमती काली तामाङ्लाई बाढीले बेपत्ता पारेको छ ।










