काठमाडौ । स्याउ तस्करीको बिषयमा सुनसरीका एसपी कमल थापामाथि छानबिन भइरहेको छ । सुनसरीको लौकही नाकाबाट तस्करी भएको चिनियाँ स्याउ केही दिनअघि भारतको बिहार राज्यको वीरपुरमा बरामद भएपछि एसपी थापामाथि छानबिन भइरहेको छ । १ हजार ३५० कार्टुन स्याउ तस्करी प्रकरणमा एसपी थापाकै मिलेमतो देखिएपछि उनी छानबिनमा तानिएका छन् ।
कोरोना महामारीका कारण निषेधाज्ञा लागू भएको अवस्थामा नेपालको बाटोबाट चिनियाँ स्याउ भारत तस्करी भएको बिषयलाई अख्तियारको इटहरी कार्यालयले गम्भीर रुपमा लिएको छ । र, यसबारेमा नेपाल प्रहरीको मात्र होइन, सशस्त्र प्रहरीको पनि मिलेमतो रहेकाले दुवै संगठनका अधिकारीमाथि छानबिन गर्ने भएको छ । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका एसपी माधव पौडेलमाथि पनि छानबिन गर्न नेतृत्वमाथि दबाब परेको छ । सशस्त्रको श्रीपुर बीओपीका इन्स्पेक्टरको सेटिङमा स्याउ भारततर्फ तस्करी हुने गरेको सूचना पाएर पनि एसपी पौडेलले कारबाही नगरी संरक्षण गर्दैआएको आरोप छ ।
सुनसरीमा नेपाल प्रहरीका एसपी सरुवा भएको १६ महिना भइसकेको छ । सुरुमा ६ महिना तस्करी नियन्त्रण गरेजस्तो देखाएर १ बर्षयता नेपालबाट पेट्रोलियम पदार्थ, हरियो केराउ, सुपारी भारततर्फ तस्करीको लाइन चलाएर एसपी थापाले लाभ लिएको आरोप छ ।एसपी थापा अनियमिततामा मुछिएको उजुरी प्रदेश नं १ प्रहरी कार्यालय बिराटनगर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत परेको छ । तर डीआइजी इश्वर कार्कीलाई पनि भागबण्डा बुझाएकाले उनलाई केही कारबाही हुन सकेको थिएन ।
भारतसँग सीमा जोडिएका सुनसरीका प्रमुख व्यापारिक नाका भन्टाबारी र लौकहीमा एसपी थापाले २०७८ जेठ १७ मा सई गंगा थापालाई सरुवा गरेका छन् । उनी एसपी थापाका नाताभित्रकै भएकाले तस्करीको लाइन चलाउन पठाइएको समाचार स्रोतले बताएको छ ।भारतीय सीमा नाकामा मासिक दररेट नै तोकेर इन्चार्ज खटाउने गरेको आरोप पनि थापामाथि लाग्ने गरेको छ ।कोरोना महामारीका कारण निषेधाज्ञा लागू गरिएको बेलामा नेपाली नम्बर प्लेटका ३ वटा ट्रकमा ३ हजार ३ सय ५० कार्टुन चाइनिज स्याउ भारतमा बरामद भएपछि एसपी थापाको सेटिङ छताछुल्ल भएको हो ।
धनुषाका एसपीमाथि पनि छानबिन सुरु
यसैबीच, लागूऔषध घटनामा मिसिल नै परिवर्तन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाट पनि छानबिनमा तानिएका छन् । ४ महिनाअघि २०७७ फागुन ८ मा धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागूऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको थियो ।सो घटनामा एसपी रानाभाटले अवैध लाभमा मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो । अहिले उक्त छानबिन समितिले धनुषा गएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा हुँदा उजुरीमा मोलमोलाई गरेको आरोप लागेका रानाभाट बागमती प्रदेश प्रहरी कार्यालयको एसपी हुँदा पनि घुसकाण्डमा मुछिएका थिए ।
उनकै कार्यालयमा कार्यरत प्रहरीलाई प्रदेश प्रहरी कार्यालय बागमतीबाट खटिएको अनुगमन टोलीले घुससहित पक्राउ गरेको थियो । अपराध अनुसन्धान महाशाखामा केही समय काम गर्दा पनि उनले दीपक थापालाई पनि विवादमा पार्नेगरी ठेक्कापट्टाका मुद्दामा बढी चासो राखेका थिए ।










