काठमाडौ । सशस्त्र प्रहरी बलमा एक एआइजिपीको दरबन्दी थपिने भएको छ । वर्तमान सरकारले नै सशस्त्रको एआइजिपीको दरबन्दी कटौती गरि दुईवटा मात्र राखेको थियो । अहिले फेरि एक एआइजिपीको दरबन्दी थपेर तीन पुर्याउन लागिएको छ । मातातिर्थ स्थित एकेडेमीका लागि उक्त नयाँ दरबन्दी ल्याउन लागिएको हो । दरबन्दी थपिएसंगै सिनियर डिआइजी रहेका खड्ग राई एआइजिपीमा बढुवा हुने निश्चित प्रायः छ । हाल उनी सशस्त्र एकेडेमीको प्रमुख छन् । दरबन्दी थपिएर एआइजिपी भएमा उनी सशस्त्र प्रहरी बलको आइजिपी बन्ने अवसर समेत पाउनेछन् ।
उता सशस्त्रका दुई एआइजिपीको सरूवा भएको छ । प्रशासन तथा मानवस्रोत बिभागको प्रमुख रहेका पुष्पराम केसीलाई कार्य बिभाग र कार्य बिभागका रामशरण पौडेललाई प्रशासन तथा मानवस्रोत बिभागमा सरूवा गरिएको छ । प्रशासन बिभागबाट सरूवा नहुनका लागि पुष्पराम केसीले निकै शक्तिकेन्द्र धाए र प्रयोग गरे तर केही लागेन । असार मसान्तसम्म वा साउनको पहिलो साता सशस्त्र प्रहरीका लेखापाल, लेखा अधिकृत, निरीक्षक देखि डिआइजी सम्मको सरूवा हुने गर्दछ ।
उक्त सरूवामा धेरै आर्थिक लेनदेन र चलखेल हुने गरेको कुरा हरेक बर्ष बाहिर आउंछ । त्यसैका लागि पनि केसीले सरूवा रोक्न निकै दौडधुप र चलखेल गरेको भए पनि सरकारले उनलाई सरूवा गर्याे । सशस्त्रमा गणपति र राम्रो बिओपी प्रमुख हुनका लागि ठूलो आर्थिक चलखेल र लेनदेन हुने गर्दछ । सरकारले एआइजिपीको सरूवा गरेको पत्र मुख्यसचिवले गृह मन्त्रालय पठाए पनि चार दिन सम्म गृहको प्रशासन शाखाका उपसचिव रूद्र पण्डितले सार्वजनिक नगरी लुकाएर राखेको कुरा पनि बाहिर आएको छ ।
मुख्यसचिवले पठाए पछि उक्त सरूवाको पत्र सशस्त्र मुख्यालयमा पठाउनुपर्नेमा त्यसो नगरी उपसचिव पण्डितले चिठी नै लुकाएको र पछि सहसचिवले थाहा पाएर सोधखोज गरेपछि मात्रै उक्त पत्र सशस्त्र मुख्यालयमा पठाएको खुल्न आएको छ । अवकाशको मुखमा रहेका पण्डितसंग खरिदार हुदांदेखि नै एआइजिपी पुष्पराम केसीको नजिकको सम्बन्ध रहेको थियो र अहिले पनि छ । सार्वजनिक नभए कतै सरूवा बदर गराउन सकिन्छ कि मनसायले पनि उक्त पत्र लुकाइएको हुनसक्ने गृहकै अधिकारीहरू बताउँछन् ।
उता सशस्त्र प्रहरी बलको उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएसँगै रिक्त रहेका तीन नायब महानिरीक्षक (डीआईजी)मा एसएसपीहरू कालिदास धौबजी, विदुर खड्का र कुमार न्यौपानेको बढुवा हुने सम्भावना प्रबल देखिएको छ । सशस्त्रमा डीएसपीदेखि डीआइजीसम्म एक सय ६ पद रिक्त छन् । उक्त पदमा बढुवाका लागि बुधबार सशस्त्र प्रहरी मुख्यालयले डीआइजी पदमा बढुवाका लागि आवेदन दिन भन्दै सुचना जारी गरेको छ । मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो । एआईजी पौडेल गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव समेत हुन् ।
डीआईजी बढुवाका लागि बुधबार जारी सूचनामा तीन दिनभित्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन भनिएको छ । रिक्त रहेका तीन डीआइजीका लागि धौबजी, न्यौपाने र खड्कासँगै अन्य एसएसपीहरू भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि प्रतिस्पर्धामा छन् ।
बढुवाको पहिलो र दोस्रो नम्बरमा २०७५ पुस २० मा एसएसपी भएका कालीदास धौबजी र कुमार न्यौपाने छन् । धौबजी र न्यौपानेले नेपाल प्रहरीमा प्राविधिकका रूपमा सईबाट सेवा सुरु गरेका थिए । धौबजी २०५२ असोज २५, न्यौपाने २०५२ फागुन १ प्रहरीमा प्रवेश गरेका थिए । त्यसपछिका दाबेदार विदुर खड्का हुन् । खड्का २०५० भदौ १ मा नेपाल प्रहरीको सईमा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ ।
जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ । डीआईजी बढुवाहुनेहरू सबै नेपाल प्रहरीमा सईमा प्रवेश गरेका थिए । सशस्त्रमा आएपछि उनीहरू गैरप्राविधिक बनेका हुन् । बढुवा समितिले बढुवा सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनका आधारमा गर्छ । जसमा कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषणबापत २ अंक र बढुवा समितिले ५ अंक दिन पाउने व्यवस्था छ ।










