काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो गृहजिल्ला डडेल्धुराको पार्टी सभापतिमा भीमबहादुर साउदलाई अगाडि सार्ने भएका छन् । आज बिहान देउवा निवास बूढानीलकण्ठ पुगेका नेताहरूसँगको छलफलमा देउवा साउदको पक्षमा उभिएका थिए ।
साउदलाई सभापति बनाउने विषयमा देउवापत्नी आरजु राणा पनि सकारात्मक देखिएकी छन् । डडेल्धुराको पार्टी राजनीतिमा गहिरो चासो राख्दै आएकी आरजु पनि साउदकै पक्षमा उभिएको छ ।
आजको छलफलमा देउवा दाम्पती र जिल्लाका करिब एक दर्जन नेता कार्यकर्ताका बीचमा परशुराम नगरपालिका मेयरसमेत रहेका साउदलाई सभापति बनाउने समझदारी भएको हो ।
समयमै जिल्ला सभापतिको टुंगो नलाग्दा विगतमा पराजित हुनुपरेको भन्दै जिल्ला नेताहरुले देउवालाई समयमै निर्णय लिन आग्रह गरेका थिए । सोही क्रममा देउवाले आफूलाई जिल्ला सभापतिको उम्मेदवारका रुपमा अगाडि सारेको साउदले जानकारी दिए ।
साउदका अनुसार बूढानीलकण्ठ छलफलमा सहभागी भट्ट र बोहोराले समेत उनलाई सभापति बनाउने देउवाको प्रस्तावमा समर्थन जनाएका छन् । साउदले भने, ‘सिनियर दाइहरू (भट्ट र बोहोरा)ले साथ सहयोग रहने भन्नुभएको छ, अरु साथीहरुलाई पनि मिलाउने मेरो कोशिस रहन्छ ।’ प्रतिस्पर्धामा मै जानुपरे पनि आफू उम्मेदवार बन्ने अब पक्का भएको उनको भनाइ छ ।
तर, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका सभापतिका आकांक्षी मल्ल भने काठमाडौं आएका थिएनन् । देउवाले उनलाई पनि मिलाउने नेताहरुलाई बचन दिएका छन् । सभापतिको टुंगो लगाउन तीन दिनदेखि काठमाडौंमा रहेका नेताहरु अब जिल्ला फर्किएका छन् ।
१३ औं महाधिवेशनमा देउवाले रघुवर भट्टलाई अगाडि सारे पनि उनले मल्ललाई रोक्न सकेनन् । मल्ल देउवाविरुद्ध मोर्चाबन्दीमा संस्थापनइत्तर पक्षसँग उभिँदै आएका छन् । तर, पार्टी विधान अनुसार दुईपटक सभापति भइसकेका कर्ण मल्ल फेरि जिल्ला सभापति हुन पाउने छैनन् ।










