होमपेज » समाचार » घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत, लागुऔषधसहित एकजना पक्राउ

घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत, लागुऔषधसहित एकजना पक्राउ

बुधबार, १८ चैत्र २०७७, २१:४३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो ।

पछिल्लो एक महिनाको अवधिमा नियम उल्लंघन गरे कारवाहीबाट बच्न घुस दिन खोज्ने झण्डै १५० चालकलाई पक्राउ गरी कारवाही गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ । विगतमा प्रहरीलाई आर्थिक अनियमिततामा संलग्न हुन्छन् भन्ने आरोप आउने गरेकाले त्यसलाई चिर्नका लागि घुस फिर्ता अभियान चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उनका अनुसार घुस फिता गरेर कारवाही हुने क्रम भने बढ्दै गएको छ ।

त्यसैगरी काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट दुई हजार १०० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित रामेछाप सालदेउराली गाउँपलिका-१ बस्ने १९ वर्षीय विशाल कार्कीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

नागढुंगास्थित चेक प्वाइन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले महोत्तरी जलेश्वरबाट काठमाडौंतर्फ आउँदै गरेको बा५ख ८३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कार्कीलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।