काठमाडौं । जापान पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरकी शुभद्रा परियार ,इलामकी पूजा राई, भक्तपुरकी दीपिका केसी र सिन्धुपाल्चोकका राजेन्द्र ढकाल लगायतको टिमले नक्कली फेसबुक खाता खोली आफूहरु जापानको इमिग्रेसनमा काम गर्ने आधिकारीका रुपमा चिनाइ विभिन्न व्यक्तिहरुसँग रकम उठाएर ठगी गर्ने कार्यमा संलग्न रहेकाले महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
फेसबुकमार्फत पीडितलाई सम्पर्क गरेर उनीहरुले वर्किङ भिसाको प्रक्रियाका लागि रकम पठाउनुपर्छ भन्दै विभिन्न बैंकको खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको खुल्न आएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।










