म्यानमार (बर्मा) मा जारी हत्या र दमन रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्ने मागसहित मंगलबार मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय (यूएनहाउस) पुल्चोक अघि दिउँसो भएको प्रदर्शनमा म्यानमारमा भइरहेको हत्या र दमन रोक्न राष्ट्रसंघ र समस्त विश्व एक भएर सामूहिक कदम चाल्न आग्रह गरिएको थियो । ‘प्रदर्शनमा ‘म्यानमार : सैनिक शासन चाहिदैँन’, ‘मान्छे मार्न पाइदैँन’, ‘हत्या, दमन बन्द गर’, ‘लोकतन्त्र बहाली गर’, ‘राजनीतिक बन्दी रिहा गर’, ‘मानव अधिकारको सम्मान गर’ लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनपछि शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघको कार्यालयमार्फत सञ्चार व्यवस्थापक सिम्रिका शर्मालाई बुझाइएको महासचिव रामकृष्ण बरालले जानकारी दिए ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईँ संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव बराल, पूर्वउपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरू बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतम, सहित ५५ जनाभन्दा बढी अधिकारकर्मीको सहभागिता थियो ।










