नागोया । जापानको नागोया शहरमा पहिलो पटक नेपाली युवा व्यवसायी साइमोन विश्वकर्माले युनिसेक्स सैलुन नागोया सञ्चालनमा ल्याएका छन् । नेपालीहरुको बाक्लो उपस्थिति रहेको नागोयास्थित साकाएमा युवा व्यवसायी साइमोन विश्वकर्माले सैलुन सञ्चालनमा ल्याएका हुन् ।

नेपालीहरुले जापानमा रेस्टुरेन्ट, हलाल, रेमिट्यान्सजस्ता व्यवसायहरु सञ्चालन गर्दै आएका छन् । जापानमा प्राय नेपालीहरुले गर्ने व्यवसायभन्दा भिन्न व्यवसाय साइमोनले सुरु गरेका हुन् ।

अधिकाशं नेपालीहरुले रेस्टुरेन्ट तथा हलाल सञ्चालन गर्दै आएकोमा आफुले नयाँ व्यवसायमा हात हालेको साइमोनले बताए । सामान्यतया जापानी सैलुनहरुमा कपाल काट्दा ४ हजार येनभन्दा माथि लिने र आफुले भनेजस्तो काम नगरिदिने र भाषाको समस्याका कारण काम गराउन समस्या हुने गर्दछ । यसै कुरालाई मध्यनजर गर्दै आफुले यस व्यवसायमा हात हालेको र नेपालीहरुलाई सहुलियतमा सेवा उपलब्ध गराउने पनि साइमोनले बताए ।

साइमोनले भने, ‘सैलुन पेशामा काम गर्न पाउँदा एकदमै सन्तुष्टि महसुस भएको छ । साथै, मैले नेपालीहरुलाई सेवा दिने मौका पाउने भएँ भनि खुसी पनि लागेको छ । ’युनिसेक्स सैलुन नागोया गत जनवरी १५ बाट आधिकारिक रुपमा सञ्चालनमा आएको छ । सैलुनले कपाल काट्ने, कपालमा रंग लगाउने, फेसियल, मेकअपदेखि लिएर छाला, नङको स्याहारजस्ता सुविधाहरु दिने भएको छ ।

युवा व्यवसायी साइमोनले जापानमा रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् । उनले जापानको नागोयास्थित साकाएमै पहिलोपटक २४ घण्टा सेवा दिने रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । रेस्टुरेन्टका साथसाथै उनले सैलुनजस्तो नयाँ पेशामा हात हालेर कामको सुरुवात गरेका हुन् ।











