नायक रबि कार्कीले आफ्नै कथा, पटकथा र संवादमा ‘मेरो अदालत’ नामको नयाँ सिरिज निर्माण गर्ने भएका छन् ।
मेरो अदालतको पोष्टर सार्वजनिक गर्दै कार्कीले देशमा भइरहेका विभिन्न घटनाहरूसँग सम्बन्धित रहेर सिरिज बनाउने बताए ।
उनले भने, ‘सिरिजमा केही सत्य घटना र केही काल्पनिक कथावस्तु रहनेछ । सिरिजले देशको अवस्था र पीडितलाई कसरी न्याय दिनुपर्छ भन्ने विषयवस्तु समेत उठान गर्नेछ ।’
सिरिजको निर्देशन रामेकुमार राईले गर्दैछन् भने निर्माताका रूपमा सूर्य जिसी, पर्वत राई र सह निर्माताका रूपमा मालती कार्की रहेका छन् ।
रि एन्ड की फिल्मसको ब्यानरमा निर्माण हुने सिरिजको पोष्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ ।
सिरिजका कलाकारहरू भने केही दिनमै अडिसन लिएर छनौट गरिने बताइएको छ । यो सिरिज राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रसारण हुने निर्माण पक्षले जानकारी दिए ।










