होमपेज » हेडलाइन » गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : मन्त्री चौधरी

गठबन्धनकै नेतृत्वमा सरकार बन्छ : मन्त्री चौधरी

बिहीबार, १५ मंसिर २०७९, २१:०८

सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो । “सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँचदलीय गठबन्धनको नै सरकार बन्छ ।

 

सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुङ्गो लगाउँछौँ”, उहाँले भन्नुभयो । आज यहाँ एक कार्यक्रममा उहाँले अब पाँच वर्षसम्म यही गठबन्धनको सरकार बन्ने जिकिर गर्नुभयो । अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने उहाँको दाबी छ ।

 

मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि बताउनुभयो । अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै मन्त्री चौधरीले भन्नुभयो, “अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरु खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन ।” मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने पनि बताउनुभयो ।

 

आफ्नो दलले चुनावमा हासिल गरेको सिट सङ्ख्या अपेक्षित नभए पनि तुलनात्मकरूपमा सन्तोषजनक रहेको उहाँको भनाइ छ । उहाँले काठमाडौँ उपत्यकाभित्र देखिएको सुकुम्बासी समस्या पनि छिट्टै हल गरिने बताउँदै आगामी ३५ दिनभित्र काठमाडौँको सुकुम्बासी समस्या हल गरिने जानकारी दिनुभयो ।