होमपेज » देश » स्थानीय » थुलुङ दुधकोशी गाउँपालिकाले कफी प्रशोधन गरी विश्व बजारमा पुऱ्याउने

थुलुङ दुधकोशी गाउँपालिकाले कफी प्रशोधन गरी विश्व बजारमा पुऱ्याउने

बिहीबार, १८ माघ २०८०, १२:३३

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आफ्नै गाउँपालिकामा कफी प्रशोधन गरी विश्व बजारमा पुऱ्याउने नीति लिएको थुलुङ दुधकोशीले कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढंगबाट मूल्य निर्धारण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य समेतलाई आधार मानी ’ए’ ग्रेडको पार्चमेन्ट कफीको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६ सय निर्धारण गरिएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भने सोही कफीको मूल्य प्रतिकेजी ५ सय निर्धारण गरेको छ । यही मंसिर १ गतेबाट लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरी बोर्डले सार्वजनिक सूचना नै जारी गरेको छ ।
बोर्डको समर्थन मूल्यभन्दा प्रतिकेजी १ सय बढी निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष असीम राईले बताए । थुलुङ दुधकोशी गाउँपालिका सरकार वास्तविक कृषकको उन्नतिका लागि काम गर्ने सरकार रहेको भन्दै अध्यक्ष राईले आर्थिक विकासका लागि महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

यसअघि थुलुङ दुधकोशी गाउँपालिका–८ देउसामा रहेको देउसा कृषिवन स्रोतकेन्द्रले कृषकको कफी प्रतिकेजी ५ सयले संकलन गर्दै आएको थियो । गाउँपालिका अध्यक्ष असीम राईको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा अगुवा कृषकले जिज्ञासा तथा सुझाव पेश गरेका थिए ।

थुलुङको कफी विश्वमै उत्कृष्ट

थुलुङ दुधकोशीमा उत्पादन भएको कफी विश्वमा नै उत्कृष्ट रहेको अध्ययनले जनाएको छ । इको हिमाल नेपालकै पहलमा यहाँ उत्पादित कफी बेलायत र अष्ट्रेलिया लगायतको राष्ट्रमा नमुना परीक्षणको लागि पठाउँदा उत्कृष्ट प्रमाणित भएको इको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले बताए ।

नमुना परीक्षणको क्रममा कफीको नतिजा उत्कृष्ट पाएपछि कृषकलाई थप हौसला बढेको कार्यकारी प्रमुख ढकालको भनाइ छ । केही वर्षअघि बारीमा लगाइएको कफी मास्न थालेका कृषकले पुनः नयाँ विरुवा लगाउन थालेका स्थानीयवासी कृषक नेतकुमार राईले बताए ।

आफूले समेत केही बोट कफी मासेको अनुभव सुनाउँदै उनले स्थानीय सरकारले बजारीकरणको जिम्मा लिएपछि सहज हुने र ढुक्कसँग खेती गर्ने वातावरण सृजना भएको बताए ।

पालिकमै कफी प्रशोधन हुनेभएपछि कृषक हर्षित

थुलुङ दुधकोशीले पालिकामै कफी प्रशोधन गर्ने भएपछि यहाँका कृषक हर्षित भएका छन्। कफी निर्यातमा रोक लगाउने निर्णय गरेको पालिकाले त्यसको प्रशोधनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार अहिले कफी प्रशोधन गर्ने मेसिन खरिदलगायत अन्य संरचना निर्माणको तयारी तीव्र पारिएको छ । करिब ७० लाखको लागतमा उक्त परियोजनाको कार्य भइरहेको उनको भनाइ छ । उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्ट बेलायतको लगानी हुनेछ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भूमिका रहने बताइएको छ ।

उत्कृष्ट कृषकलाई पुरस्कार दिने

थुलुङ दुधकोशी गाउँपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कार दिने भएको छ । कार्यविधि निर्माण भइरहेको भन्दै गाउँपालिका अध्यक्ष असिम राईले राम्रो कफी उत्पादन गर्ने कृषकलाई पुरस्कार दिने बताए ।
जिल्लामा मात्रै नभई छिमेकी जिल्लामा समेत उत्पादन भएको कफीलाई थुलुङ दुधकोशी गाउँपालिकामा संकलन गरेर प्रशोधन गरी विश्व बजारमा पु¥याउने अध्यक्ष राईले बताए ।