विष्णु प्रसाद होमागाई
काठमाडौं । वैदेशिक रोजगार बोर्डले अबुधाबीमा रोजगार मेलाका लागि राजदुतावासमार्फत सोझै भुक्तानी गरी सार्वजनिक खरिद ऐनको धज्जी उडाएको छ । बोर्डको वार्षिक कार्यक्रम अनुसार रोजगार मेलाको प्रचार प्रसारका लागि स्वदेश तथा विदेशका पाँच ठाउँमा मेला गर्नेगरी एक करोड पचास लाख रुपैयाको बजेट बिनियोजन गरिएको थियो । जसमा ६० लाख रुपैया अबुधाबीमा खर्च गर्ने गरी बनाइएको कार्यक्रम स्वीकृत गराई स्टल बुक, ट्रान्सपोर्टेशन, भाडा, भ्रमण खर्च र पदाधिकारीहरुको खाना र बस्नका लागि विनियोजित थियो । प्रचलित कानून बमोजिम गर्ने भनि निर्णय गरी कानून बिपरित गरिएको यो कार्य अनियमतिताको परकाष्ठा भएको सार्वजनिक खरिद ऐन कार्यलयकै कर्मचारीहरु बताउँछन् । निर्णयमा प्रचलित कानून बमोजिम खर्च गर्ने भनिएकोमा किन प्रतिस्पर्धा नगराई परराष्ट्र मन्त्रालयमार्फत अन्तर्गत नेपाली राजदुतावास अबुधावीलाई खर्च गर्ने अख्तियारी दिइयो ? बोर्डको निर्णयमा उल्लेख नै नभई गरिएको यो कार्य प्रति गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।
वैदेशिक रोजगार बोर्डको मिति २०८० माघ २३ गते बसेको ८१ औं बैंठकको निर्णय नम्बर ७मा भनिएको छ “२०२४ को मार्चमा युनाईटेड स्टेट इमिरेट्सको दुबई सहरमा बोर्डको सम्बन्धित शिर्षकबाट प्रचलित कानून बमोजिम हल एवं स्टल भाडा र सरकारी अधिकारीहरुको भ्रमण खर्च समेत गरी अधिकतम रु ४० लाखको सीमा भित्र रहि खर्च गरी जब फेयर आयोजना गर्ने ।”
त्यसै गरी बैदेशिक रोजगार बोर्डको मिति २०८० साल फागुन १५ गते बसेको ८२ औं बैठकबाट निर्णय नम्बर ४ मा भनियो “२०८० साल फागुन १९ गते तदनुसार २ मार्च २०२४ मा युनाइटेड अबर इमिरेट्सको दुबई सहरमा हुने जब फेयरमा बोर्डको तर्फबाट ब्ययभार हुने गरी निम्न अनुसार पदाधिकारीहरुलाई सहाभागिता जनाउने र बोर्डको कार्य सञ्चालन निर्देशिका, २०६८ को दफा २८ (२)बमोजिम निजहरुलाई काज खटाउने निर्णयका लागि तत् तत् निकायमा सिफारिस गर्ने । अघिल्लो बैठकको निर्णय अनुसार जब फेयरका लागि तोकिएको बजेट सीमाले नपुग हुने भएमा नियमानुसार लाग्ने दैनिक तथा भ्रमण खर्च एवं स्टल र हलभाडा समेत गरी लाग्ने थप रकम समेत गरी प्रचलित कानून बमोजिम अधिकतम ६० लाख रुपैयासम्म खर्च गर्ने ।”
जब फेयरका लागि बोर्डका अध्यक्ष तथा श्रम मन्त्री शरत सिंह भण्डारी, सचिव केवल प्रसाद भण्डारी, सदस्य सचिव द्धारिका उप्रेती, बोर्डकी सदस्य मिनाक्षी ठाकुर र अर्का बोर्ड सदस्य दुर्गा प्रसाद खतिवडाको सहभागिता थियो । उनीहरु सचिव सरहले मात्रै बिजनेस सिटको टिकट पाउने भएपछि सबैजनालाई “मामाको धन फूपूको श्राद्ध” भने जस्तै बिजनेस क्लासकै काटिएको थियो । एउटै कार्यक्रममा मन्त्री सचिव र कार्यकारी निर्देशक सबैजनाको ग्रुप गएर राज्यको करबाट भत्ता खाएका उनीहरुले मस्ती गरेका थिए । त्यसै गरी फागुन १५ गते बोर्ड सदस्यमा नियुक्ति पाएकी डा. मिनाक्षी ठाकुर १९ गते नै बिजनेस क्लासबाट राज्यको सम्पत्तिमा सयर गर्ने मौका प्राप्त गरिन् । उनी तमलोपाका अध्यक्ष महन्थ ठाकुरकी छोरी हुन् । ठाकुरले छोरीको विवाह गर्दा सम्धिनी इन्दिरा झालाई सभासद् पद दाइजो दिएको समाचार माध्यमले जनाएका थिए । प्रचलित कानून बमोजिम नभई किन दुतावासमार्फत सार्वजनिक खरिद् ऐन बिपरित ६० लाख खर्च गरिएको हो भन्ने विषयमा वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालसँग प्रतिक्रिया माग्दा उनले भने ‘आज सार्वजनिक बिदा छ भोलि कार्यालय समयमा फोन गर्नु ।’
डायरी एक्सप्रेस साप्तहिकबाट










