होमपेज » हेडलाइन » पत्रकार महासंघमा को–को छन् आकांक्षी ?

पत्रकार महासंघमा को–को छन् आकांक्षी ?

सोमबार, १४ जेष्ठ २०८१, १४:०२

काठमाडौं । पत्रकारहरुको सिंगो छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्ला, एशोसियट्स र प्रतिष्ठानको निर्वाचन एकै दिन सम्पन्न हुने भएको छ । २०८१ साल वैशाख २१ र २२ गते काठमाडौंमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औ महाधिवेशनले मिति तय गरे अनुसार केन्द्र, प्रदेश र जिल्लाका नेतृत्व चयनका लागि यहि जेठ २६ गते निर्वाचन हुँदैछ । केन्द्र, १० वटा प्रदेश, जिल्ला, एशोसियट्स, प्रतिष्ठान तहमा उम्मेदवारहरुले आफ्ना समूहमा उम्मेदवारीका लागि आकांक्षा व्यक्त गरिरहेको छन् । उम्मेदवार मनोनयनका लागि यो समाचार तयार पार्दासम्म यहि जेठ १९ गते हुने बताइएको छ । महासंघमा अहिले झण्डै आठ हजारको संख्यामा पत्रकारहरु रहेको बताईन्छ । पत्रकार महासंघमा गैरपत्रकारहरु हावी भएको भन्दै शुद्धीकरण अभियान पनि थालिएको छ । पत्रकार महासंघको संस्थापकका विषयमा पनि अहिले विवाद छ । कतिपयले सत्यनारायण बहादुर श्रेष्ठ र केहिले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक कृष्ण प्रसाद भट्टराई नै संस्थापक सभापति हुने भन्ने विषयमा विवाद र बहस सिर्जना गरिएको छ ।

आगामी २६ गते हुने निर्वाचनमा सत्ताधारी गठबन्धन र प्रतिपक्ष गठबन्धनबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यस अघिको निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरु र प्रतिपक्षमा रहेको दल नेकपा एमाले निकट प्रेस चौतारी बीच प्रतिस्पर्धा भएको थियो । अहिले नेकपा एमाले समर्थक पत्रकारहरुको संगठन प्रेस चौतारी सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र निकट प्रेस सेन्टरसँग गठबन्धन गरी निर्वाचनमा होमिने भएको छ ।
नेकपा एमाले समर्थक पत्रकारहरुको संगठन प्रेस चौतारीबाट केन्द्रीय अध्यक्ष पदको आकांक्षीहरुमा निर्मला शर्मा र उजिर मगरको नाम अग्र स्थानमा छ । शर्मा यस अघि अध्यक्ष पदमा उम्मेदवार थिइन् । मगर पनि महासंघको महासचिव सम्हालीसकेका सक्रिय व्यक्ति हुन । त्यसैगरी प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दीपक पाण्डे पनि आफ्नो आकांक्षा केन्द्रीय अध्यक्षमा रहेको निकटस्थसँग बताएका छन् ।
प्रेस युनियनबाट रमेश विष्ट आकांक्षी छन् । उनी शेखर कोइराला, गगन थापा समूहका हुन् । विष्ट घर जग्गा व्यवसायी पनि हुन् । पूर्व सचिव राम प्रसाद दाहालले पनि अध्यक्ष पदमा दाबी गरेका छन् । दाहाल प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यसमेत हुन् ।

नेकपा माओवादी केन्द्रसमर्थक पत्रकारहरुको संगठन प्रेस सेन्टरबाट वर्तमान महासचिव रोशन पुरी आकांक्षी छन् । तथापी सत्ता गठबन्धनबाट प्रेस सेन्टरले अध्यक्ष पाउने सम्भावना न्यून नै देखिन्छ । समाजवादी प्रेस संगठनबाट उपाध्यक्ष, महासचिव र सचिवमा दावी गरिएको छ । त्यसका लागि गोबिन्द चौलागाई, माधव पौडेल, सन्तराम बिडारी र राम कुमार एलनको दाबी रहेको छ । चौलागाई हाल सचिव छन्, पौडेल खुला सदस्यमा सबैभन्दा बढि लोकप्रिय मत ल्याएका व्यक्ति हुने भने बिडारी पत्रकार महासंघ काठमाडौमा अध्यक्ष रहँदा सक्रिय भूमिका निर्वाह गरेको पत्रकार हुन् ।
श्रमजिवी पत्रकार सघका अध्यक्ष जन्मदेव जैसी पनि पत्रकार महासंघको केन्द्रीय अध्यक्ष पदका लागि सशक्त दावी पेश गरेका छन् । जैसी श्रमजिवी पत्रकारहरुको हितमा सशक्त आन्दोलनको नेतृत्व गर्दै आएका पात्र हुन् ।

काठमाडौंमा को को छन् आकांक्षी ?
नेपालभरका जिल्ला मध्येको प्रभावशाली र धेरै सदस्य भएको पत्रकार महासंघ काठमाडौंमा अध्यक्ष पदका दावेदारमा प्रेस चौतारीबाट मोहन पन्त र पुष्कर बस्नेत, उपाध्यक्षमा हेम बहादुर राना (कमल) र अमिर लामा, सचिवमा राम चन्द्र कार्की र कोषाध्यक्षमा कमल पन्थीको दाबी रहेको बताईन्छ ।

गठबन्धनमा काठमाडौंको अध्यक्ष प्रेस सेन्टरले पाएको खण्डमा शोभा अर्याललाई उम्मेदवार बनाउने बताईन्छ । तर, प्रेस चौतारीले कुनैपनि हालतमा आफुले काठमाडौको अध्यक्ष नछाड्ने बताएको छ । ललितपुर र भक्तपुरका अध्यक्ष छाड्नु परेका कारण प्रेस चौतारीले काठमाडौंको अध्यक्षमा दवाव बढाएको श्रोतको दाबी छ ।

त्यसै गरी प्रेस युनियनको तर्फबाट अध्यक्षमा हालका उपाध्यक्ष रामचन्द्र दुलाल, महेश्वर गौतम र अर्जुन डोटेलले दाबी गरेका छन् । उपाध्यक्षमा कालिका महतको पनि नाम छ । त्यसैगरी सचिवमा रमेश बोहोराले आफ्नो दाबी गरेका छन् ।
समाजबादी प्रेस संगठनबाट अप्सरा गौतमले अध्यक्ष पदका लागि दाबी गरेकी छन् । उनी हाल उपाध्यक्ष छन् । समाजवादी प्रेस संगठन पनि प्रेस चौतारी र प्रेस सेन्टरसँग गठबन्धन गर्ने भएपछि जित सुनिश्चित भएको भन्दै जिल्लामा आकांक्षीहरु प्रभावशाली नेताहरुको घरमा धाउने क्रम बढेको छ । स्वतन्त्रबाट अध्यक्षमा पदमा गंगा बराल र पृथ्वी बहादुर बस्नेत (रामचन्द्र) पनि उम्मेदवार बन्ने बताएका छन् । त्यसै गरी सचिव पदमा मोहन कार्कीले पनि उम्मेदवार बन्ने भन्दै प्रचारमा जुटेका छन् ।

पत्रकार महासंघ काठमाडौंमा अहिले नविकरण गरिएका सदस्यहरु मात्रै ९५६ जना रहेका छन् । तथापि ६०१ जना मध्ये ३३६ जना नयाँ सदस्य सिफारिस गरिएकोमा हाल विवादका कारण स्थगित छ । हाल म्याद भित्र नविकरण नगरिएका ९८ जनासदस्यहरु नविकरण गर्ने लागिएको भन्दै प्रेस चौतारीका पदाधिकारीहरुले आपत्ति जनाएका छन् । राजनीतिक पार्टीका नेताहरुले आफ्ना कार्यकर्तालाई तलव भत्ता दिएर थन्काउन प्रदेश सभामा बनाए जस्तै केन्द्र र जिल्लामा अटाउन नसकेका पत्रकार नेताहरुलाई प्रदेशका पदमा थन्काउने योजनामा संगठनका नेताहरुको ध्यान केन्दीत रहेको बताईन्छ ।

धेरै सदस्य भएको संगठन न घरभाडा नत आफ्नै भवन
पत्रकार महासंघ काठमाडौंले लामो समय देखि घरभाडा नतिरेको भन्दै समाज कल्याण परिषद्ले सूचना प्रकाशन गर्दै आएको छ । पत्रकार महासंघले हालसम्म २२ लाख रुपैया भन्दा बढि भृकुटी मण्डपमा रहेको कार्यालयको भाडा तिरेको छैन । पत्रकार महासंघमा युवराज विद्रोही अध्यक्ष भएकै समय देखि घरभाडा नतिरिएको स्रोतको दाबी छ । बिद्रोहीले दुई कार्यकाल, हालका केन्द्रीय सचिव गोबिन्द चौलागाईले दुई कार्यकाल, केन्द्रीय सदस्य सन्तराम बिडारीले एक कार्यकाल र हालका अध्यक्ष सूर्य सुबेदीेले एक कार्यकालमा कार्यालयको भाडा नै नतिरिकनै आफ्नो कार्यकाल बिताएका छन् । त्यसको मारमा आगामी कार्यकालका लागि निर्वाचत कार्यसमिति पर्ने देखिन्छ । धेरै सदस्य भनिएकोे शाखाहरु काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा हालसम्म पनि आफ्नै कार्यालय भवन छैन । पत्रकार महासंघ काठमाडौंले पछिल्लो समयमा साना र स्वरोजगार मिडियाको पक्षमा एक शब्द पनि खर्चिएको छैन । शाखाका पदाधिकारीहरु महासंघको नाम बेच्दै आफ्नै पत्रिकामा विज्ञापन उठाएर मस्ती गरिरहेका छन् ।

पत्रकार संघका अध्यक्षले नै पद नछाडेपछि महासंघ दर्ता
पत्रकार संघमा मञ्जुरत्न शाक्य अध्यक्षमा निर्वाचित भएपछि प्रजातन्त्रको स्थापना पश्चात पनि पद तिकडमबाजी नै गरी पद त्याग्न नछाडेपछि समस्या उत्पन्न भयो । उनले आफु निकटका पत्रकारहरु राखेर जहानीया संघ नै स्थापना गरे । त्यसपछि आजित भएर पत्रकार महासंघ गठन गर्नुपरेको एक जना वरिष्ठ पत्रकारले बताए । पत्रकार संघमा मञ्जरत्न शाक्यको एकछत्र राज छ । उनका कार्यसमितिमा को को पत्रकार सदस्य छन् विवरण पाउन पनि सकिदैन ।

संस्थापक सभापति श्रेष्ठ की भट्टराई ?
पत्रकार महासंघको संस्थापक सभापति सत्य नारायण बहादुर श्रेष्ठ हुन् कि नेपाली कांगे्रसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई भन्ने विवाद तिब्र बनेको छ । आदीबासी जनजाती पत्रकार महासंघका पदाधिकारीहरुले सत्य नारायण बहादुर श्रेष्ठ नै पत्रकार संघको संस्थापक सभापति भएको भन्दै आफ्नो धारणा व्यक्त गर्दै आएको छ । वि.सं. २००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्वमा नेपालका पत्रकार पहिलो पटक संगठित भएर ‘नेपाल पत्रकार संघ’ गठन भएको थियो । श्रेष्ठकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो। यो सभाले पनि श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालिन सम्पादक कृष्ण प्रसाद भट्टराई पत्रार संघको सभापति भएका थिए । श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै संघको अध्यक्ष बनेका हुन् । (डायरी एक्सप्रेसबाट)