होमपेज » राजनीति » मधेश प्रदेशः नयाँ सरकार गठन गर्न आज दावी पेश गरियो, नयाँ मुख्यमन्त्री सतिश सिंह बन्दै

मधेश प्रदेशः नयाँ सरकार गठन गर्न आज दावी पेश गरियो, नयाँ मुख्यमन्त्री सतिश सिंह बन्दै

शुक्रबार, २५ जेष्ठ २०८१, ०८:५०

काठमाडौं । जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले आज बिहान दाबी पेस गरेका छन् । हिजो जनमत पार्टीलाई ठूला पार्टीहरुको समर्थन प्राप्त हुने निश्चित भएपछि त्यसपार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो ।

 

 

प्रदेश सरकारमा को को रहने भनेर रातभर नै दलका नेताहरुको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने संख्या प्रस्तुत गर्दै दावी पेश गरेका हुन् ।

 

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले २०८१ जेठ २५ गते शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिईन् ।

 

 

११ मन्त्रालय रहेको मधेश प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिनाविभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

 

 

नेकपा एकीकृत समाजवादीलाई कृषि, उर्जा तथा सिंचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट सूत्रले जानकारी दिएको छ ।

 

सिंहले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको दावी पेश गरिएको छ ।