होमपेज » समाचार » जापानको नागोयामा फिल्म ‘फर्की फर्की’ को शुक्रबार भब्य रेडकार्पेट शो हुने

जापानको नागोयामा फिल्म ‘फर्की फर्की’ को शुक्रबार भब्य रेडकार्पेट शो हुने

जापानमै पहिलो पटक एकै चोटी ३ वटा पर्दामा चलचित्र लाग्दै

बुधबार, ३० जेष्ठ २०८१, १३:३३

नागोया । अभिनेता अनमोल केसी चलचित्र फर्की फर्कीको प्रमोशनका लागि अहिले जापानमा व्यस्त छन् । सुयोग गुरुङले निर्देशन गरेको उक्त चलचित्रका मुख्य भूमिकामा अनमोल केसी र जसिता गुरुङ छन् । चलचित्र नेपालमा तेश्रो सातामा प्रदर्शनरत छ ।

 

 

गत शुक्रबार जापान पुगेका अभिनेता केसी त्यहाँका विभिन्न शहरहरूमा आफ्नो फिल्म फर्की फर्कीको प्रमोशन गरिरहेका छन् । गत आईतबार टोकियोको नकारो जेरो हलमा अनमोलसँगै सिनेमा हेरेर सेल्फी खिच्ने दर्शकको क्रेज पनि उत्तिकै थियो ।

 

 

टोकियोमा चलचित्र ‘फर्की फर्की’ को प्रमोशनपश्चात अभिनेता केसी आगामी जुन १४ शुक्रबार जापानको तेस्रो ठूलो शहर नागोया आउँदैछन् । नौटंगी नागोयाको टिमले नागोयास्थित नागोया स्टेशन नजिकै रहेको मिडल्याण्ड स्क्वायर हलमा आगामी शुक्रबार चलचित्रको रेड कार्पेट प्रिमियर गर्न लागेको हो । जापानमै पहिलो पटक एकै चोटी ३ वटा पर्दामा चलचित्रलाई देखाइने भएको हो ।

 

आयोजकका सदस्य उज्ज्वल गुरागाईका अनुसार नर्मल टिकटलाई बेलुका ६ बजेबाट पहिलो शो, दोस्रो नर्मल शो ६ ः१५ बजेबाट र तेस्रो प्रिमियर शो भने ६ः३० बजेबाट हुने बताइएको छ । नर्मल टिकटलाई ३ हजार जापानी येन र प्रिमियम टिकटलाई ६ हजार जापानी येन तोकिएको छ । त्यसैगरी, चलचित्र सकेपछि विशेष टिकटमा डिनर विथ अनमोल केसीमा १२ हजार जापानी येन तिरेर अनमोलसँगै नागोयाको पाँचतारे होटलमा डिनर गर्न पाउने छन् ।अहिले सम्म ९० प्रतिशत टिकट बिक्रि भैसकेको र छिटै आफ्नो टिकट सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन्।www.unaentertainment.tech डट कम अनलाइन मार्फत पनि टिकट खरिद गर्न सकिने बताइएको छ।

 

 

 

नौटंगी नागोयाले बिगतमा पनि धेरै कार्यक्रमहरू सफलतापुर्वक सम्पन्न गर्दै गरिसकेको छ । नेपाली चलचित्र बोक्सीको घर, अगस्थ्यजस्ता चलचित्र र अन्य सांगीतिक कार्यक्रमहरू सफलताका साथ आयोजना गर्दै आएको छ । रेडकार्पेट प्रिमियर शोका लागि अनमोल आज बुधबार नागोया आउँदैछ । चलचित्र ‘फर्की फर्की’ नागोयापछि ओकिनावा, चिबा र ओसाकालगायत अन्य शहरहरूमा समेत प्रदर्शन हुनेछ ।