होमपेज » मनोरञ्जन » चलचित्र » जापानको नागोयामा घेरिए अनमोल

जापानको नागोयामा घेरिए अनमोल

जापानी मिडियामा समेत छाए अनमोल

राम तामाङ
शनिबार, १ असार २०८१, १४:२६

नागोया। चलचित्र फर्की फर्कीको प्रमोशनका लागि अभिनेता अनमोल केसी यतिखेर जापानको विभिन्न शहरमा पुगेका छन् । जापानको प्रमुख शहर टोकियोमा गत आइतबार नकानो जेरो हलमा चलचित्रको शो हाउसफुल रहेको थियो भने हिजो शुक्रबार नागोयाको मिडल्याण्ड स्क्वायरमा पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

 

नौटंकी नागोयाको टिमले आयोजना गरेको उक्त शोमा अनमोललाई रेड कार्पेटमा भब्य रुपमा स्वागत गरिएको थियो । नेपाली चलचित्र फर्की फर्कीलाई जापानमै पहिलो पटक एकै चोटी ३ वटा पर्दामा देखाइएको थियो। सबै हलमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । चलचित्र सुरु हुनुपुर्व अभिनेता अनमोलले ३ वटै पर्दामा गएर दर्शकहरुलाई भेट्न पुगेका थिए। स्टेजबाटै ‘हेल्लो नागोया’ भनेर अनमोलले दर्शकलाई सम्बोधन गर्दा दर्शकको हुटिंग बर्षिएको थियो। तछाड मछाड गरि स्टेजमै पुगेर अनमोललाई फूल दिने देखि उपहार दिने सम्म्मको ठुलै भिड देखियो।

त्यसका बाबजुद पनि अनमोल बेलाबेलामा सबै पर्दामा गएर दर्शकलाई भेटेरै मनोरञ्जन दिलाइरहेका थिए। चलचित्र सकिएपछि अनमोलसँगै सेल्फी खिच्ने दर्शकहरुको ठेलमठेल भिड थियो।

 

जापानी मिडियामा समेत छाए अनमोल

नागोया शोमा अभिनेता अनमोल नेपाली मिडियामा मात्र नभई जापानी मिडियाहरुमा समेत छाए। जापानको प्रसिद्ध पत्रिका चिउनीचि सिन्बुन र सिने नागोयाले अनमोलको अन्तर्वार्ता समेत लिएको थियो।

 

चलचित्र ‘फर्की फर्की’ नागोयापछि ओकिनावा, चिबा र ओसाकालगायत अन्य शहरहरूमा समेत प्रदर्शन हुनेछ । सुयोग गुरुङले निर्देशन गरेको उक्त चलचित्रका मुख्य भूमिकामा अनमोल केसी र जसिता गुरुङ छन् । चलचित्र नेपालमा तेश्रो सातामा प्रदर्शनरत छ ।