काठमाडौँ। बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ राष्ट्रिय पुस्तकालयलाई पाँच लाख बराबरको पुस्तक हस्तान्तरण गरेको छ । सोमबार तामाङ राष्ट्रिय पुस्तकालयको सभाकक्षमा आयोजित एक कार्यक्रम बिच पुस्तकालयका प्रमुख सल्लाहकार एवं जापानका लागि नेपालका पूर्वराजदूत डा। गणेश योन्जन र बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्षा राजकुमार लामाले संयुक्त रूपमा पुस्तक हस्तान्तरण गरेका हुन् ।
पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा। योन्जनले तामाङ राष्ट्रिय पुस्तकालय तामाङहरूको राष्ट्रियस्तरको पुस्तकालयको रूपमा स्थापित भैसकेको र यसलाई अझ विस्तारसँगै उपयोगका लागि भने अझै सबै तामाङहरूको सथासहयोगको आवश्यकता रहेको बताए । योन्जनले अढाइ वर्षको समयावधिमा पुस्तकालय धेरै साँघुरिएकोले थप विस्तारका लागि समेत पहल गर्ने बताए ।
क्षेत्र विकास समितिका अध्यक्षा राजकुमार लामाले ज्ञानको केन्द्र तामाङ राष्ट्रिय पुस्तकालयलाई सहयोग गर्न पाएकोमा क्षेत्र विकास समितिको तर्फबाट खुसी व्यक्त गर्दै तामाङ राष्ट्रिय पुस्तकालय तामाङ समुदायको गर्वको विषय भएको बताए । अहिलेको मोबाइलको युगमा पुस्तकप्रति सबैको चाख घट्दै गएकोले डिजिटल पुस्तकालयतिर ध्यान जानु पर्ने बताउँदै क्षेत्र विकास समिति र पुस्तकालय बिच यस विषयमा पनि कुराकानी भैरहेको बताए ।
पुस्तकालयका अध्यक्ष अमृत योन्जन-तामाङको अध्यक्षातामा सम्पन्न पुस्तक हस्तान्तरण कार्यक्रममा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङ, क्षेत्र विकास समितिका पदाधिकारीहरू र पुस्तकालयका बोर्ड सदस्यहरूको उपस्थित रहेको थियो ।










