होमपेज » प्रेरक » तुईन चालक चेपाङले पाए नयाँ घर

तुईन चालक चेपाङले पाए नयाँ घर

बिहीबार, १९ चैत्र २०७७, १८:१०

हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदी स्थित त्रिशुली नदी किनारमा विगत २० वर्षदेखि उनले तुईन तान्दै आइरहेका थिए ।

आइतबार एक कार्यक्रमकाबीच हास्यकलाकार जिग्री पाँडेसहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितिमा धादिङ रोराङ गाउँपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो । सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश एवं विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो ।

आजभन्दा ६ महिनाअघि उनले तुईन चलाउने बाजेको फिल्मीकुरा टिभीमा भिडियो रिपोर्टिङ गरेका थिए ।

चर्चित हास्यकलाकार जिग्री र पाँडेले शुक्रबहादुरलाई नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका हुन् । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले भने, ‘शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुरा हो । अबदेखि त्रिशुली नदी किनारमा सुत्नुपर्ने दिन गए । तपाईले घर र आफूलाई सधै सफा सुग्घर राख्नुहोला । छिमेकी दाजुभाईले शुक्रबहादुरको हेरविचार गरेर सहयोग गरिदिनुहोला ।’