पाँचपोखरी थाङ्पाल गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल वागमती प्रदेशमा पर्छ । सो पालिकाको नाम प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल पाँचपोखरीबाट बनेको हो ।
वि.सं. २०७३ मा राज्यको पुनःसंरचनासँगै बनेको सो गाउँपालिकाका पूर्वमा जुगल र पश्चिममा हेलम्बु गाउँपालिका, उत्तरमा रसुवा र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा मेलम्ची नगरपालिका पर्छन् । गाउँपालिका नामकरण भएको स्थल पाँचपोखरी वडा नं ३ भोताङको भौगोलिक क्षेत्रभित्रको राष्ट्रिय निकुञ्जमा पर्छ । पालिकाको कूल क्षेत्रफल १८७।२९ वर्ग किमी छ । समुद्री सतहबाट चार हजार १०० मिको उचाइमा पालिकाको उच्च भूभाग पाँचपोखरी पर्छ । नेपाल सरकारको निर्णयानुसार साविकका बाँसखर्क, बरुवा, भोताङ, थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप, भोटेनाम्लाङ र लागर्चे गाविस समेटेर आठ वडाको पाँचपोखरी थाङ्पाल गाउँपालिका घोषणा गरिएको थियो ।
अहिलेसम्म समृद्ध पाँचपोखरी निर्माण गर्नका लागि भइरहेका काम, विकास निर्माण अवस्थालगायत विविध विषयमा राष्ट्रिय समाचार समिति सिन्धुपाल्चोकका समाचारदाता देवराज सुवेदीले गाउँपालिकाका अध्यक्ष टासी लामासँग गरेको अन्तर्वार्ताको अंशः
गाउँपालिकामा विकास निर्माणको काम कसरी अगाडि बढ्दै छ ?
गाउँपालिका विकास निर्माणको सवालमा हामी रणनीतिक योजनाका साथ अगाडि बढिरहेका छाैं । सबै वडामा विकास निर्माणका काम योजनामुताविक नै अगाडि बढाइरहेका छौँ । हिजो जनतासँग गरिएका कबुललाई नै प्राथमिकता दिएर हामी अगाडि बढिरहेका छौँ ।
वडाको कुरा गरिरहँदा कति वडामा प्रशासकीय कार्यालय बने, कति बन्न बाँकी छन्, के छ अवस्था ?
दुई वटा वडा कार्यालय बनिसकेका छन् । अरु वडा कार्यालय पनि तत्कालै बनाउनुपर्ने अवस्थाको छैन तर पनि हामी निकट भविष्यमा अरु तीन वटा वडा कार्यालय बनाउन लागिरहेका छाैं । यस हिसाबले हेर्दा हामी वडा कार्यालय निर्माणलाई पनि अगाडि बढाइरहेका छौँ ।
कोरोनाले समग्र काममा क्षति पुर्यायो होला नि ?
कोरोना सङ्क्रमणको शुरुको चरणमा गाउँमा सन्त्रास थियो, चिन्ता थियो । मनमा एक किसिमको डर थियो । त्यसले गर्दा स्थानीय सरकारले अलि बढी जिम्मेवार भएर काम गर्न परेको थियो । क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निर्माण गर्यौँ । कम्तीमा बाहिरबाट आउने मानिसलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न लगायौँ, गाउँगाउँका नागरिकलाई पनि हामीले सचेत रहन र धेरै नआत्तिन आग्रह गर्यौँ । वडावडाका स्वास्थ्यचौकीलाई २४ घण्टै तयारी अवस्थामा बस्न भनेका थियौँ र एम्बुलेन्सबाट पनि हामीले जनतालाई सेवा दियाैं । नागरिक कसैलाई पनि समस्या नपरोस् भनेर स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर हामीले काम गर्र्यौं ।










