केपी शर्मा ओलीको मन्त्रीपरिषदमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएको करिव ११ महिना भएको छ । उद्योगी समेत रहेकाम दुगड राज्यमन्त्री भएपछि उद्योग मन्त्रालयबाट उद्योगी व्यापारीले पाउनु पर्ने सुविधा पहिलाको भन्दा सहज रुपमा पाइरहेको उनी बताउँछन् । यो मन्त्रालयमा प्रत्यक्ष उद्योगी व्यापारीसँग जोडिएको मन्त्रालय भएकाले धेरै कामहरू गर्नुपर्ने थियो । सोचेको जस्तो काम हुन नसके पनि मन्त्रालयका कर्मचारीको सहयोगमा उद्योगको क्षेत्रमा केहि नयाँ र थप सुविधाका काम भने गरेको उनी दावी गर्छन । राज्यमन्त्री तथा उद्योग मोतिलाल दुगडसँग आर्थिकन्युज डटकमले गरेको आर्थिक बहसको सम्पादित अंशः
तपाईं मन्त्री हुनुभएको करिब ११ महिना हुन लाग्यो यो अवधिमा के के काम गर्नुभयो ?
म मन्त्री भएर आएपछि मन्त्रालयले यसभन्दा पहिला गरिहेका कामहरू हेरे । नेपालमा औद्योगिक वातावरण बनाउनका लागि मैले धेरै काम गर्नुपर्ने देखेको छु । त्यसमध्ये धेरै कामहरू हामीले गरिरहेका छौं । मनत्रालयले अघि बढाइरहेका कामहरू रोक्ने वा पछाडि पार्ने कुनै पनि मनसाय नहुँदा नहुँदै पनि कोभिडले गर्दा केहि कामहरू रोकिएका छन् । केहि कामको प्रगति अलि ढिला भइरहेको छ ।
र अर्को यो मन्त्रालय उद्योगी व्यापारीसँगमात्र जोडिएको मन्त्रालय पनि होइन । यो मन्त्रालयसँग देशको आर्थिक समृद्धि जोडिएको छ । त्यहि अनुसारको काम गर्नुपर्ने हुन्छ । मन्त्रालयले देशकै आर्थिक समृद्धिसँग जोडेर कामहरू गरिरहेको छ । यहि मन्त्रालय मार्फत जनतासम्म पुग्ने सम्पूर्ण आपूर्तिका व्यवस्था पनि जोडिएको छ । समृद्ध देश र सहज र सुलभ आपूर्ति व्यवस्था बनाउन हामी लागि परेका छौं ।
यी सबै व्यवस्थालाई सहज गर्न मन्त्रालयमा रहेका नीतिगत व्यवस्थाहरूमा केहि परिवर्तन गर्दै हुनुहुन्छ ?
यो मन्त्रालयमा काम गर्ने तरिकामा थोरै परिवर्तन ल्याएका छौं । पहिला सबै कामहरू परम्परागत रुपमा गरिन्थ्यो । मन्त्रालयमा आएका कामहरूको जवाफ पाउन धेरै समय उद्योगीहरूले पर्खिनु पथ्र्यो । तर, अहिले त्यस्तो परम्परालाई हामीले परिवर्तन गरिसकेका छौं । मन्त्रालयमा कुनै पनि कामले आएका फाइलहरूको जवाफ तुरुन्तै गर्ने परम्परा बसालेका छौं । यसबाट उद्योग व्यवसायीहरूको मूल्यवान समयलाई बचाउन सफल भएका छौं । देशको समृद्धि र जनतालाई सर्वसुलभ सेवा दिनलाई वाधा गर्ने ऐन कानुनहरू परिवर्तन हुन्छन् ।
देशको मूल कानुन बनेर कार्यान्वयनको चरणमा पुगेको छ । अब देशलाई समृद्ध बनाउनका लागि आवश्यक पर्ने नीति नियमहरू हाम्रो मन्त्रालयले र अन्य मन्त्रालयले पनि निरन्तरता दिइनै रहेका छन् । र अब भोलिका दिनमा पनि आम जनता र देशमा औद्योगिककरण गर्नलाई आवश्यक पर्ने कानुनहरू परिमार्जन हुन्छ र नयाँ पनि बन्छन् ।
मन्त्रालयमा रहेका कर्मचारीले तपाईहरूको कामलाई कतिको सहयोग गरिरहेको पाउनु भएको छ ?
परम्परावादी काम गर्ने शैलीलाई हामीले परिवर्तन गरेपछि सबै कर्मचारीहरू खुसी हुनुहुन्छ । सबै कर्मचारीहरू विज्ञ हुनुहुन्छ । उहाँहरूले सरकारले ल्याएका नीति तथा कार्यक्रममा अहोरारात्र खटेर सफल बनाउनु भएको छ । सचिवज्यू तथा अन्य कर्मचारीहरूको सहयोगले नै हामीले उद्योगी व्यवसायीहरूको गुनासोलाई कम गर्न सफल भएका छौं । विश्वभरी फैलिएको महामारीका बेलामा पनि देशमा कुनै पनि वस्तुको अभाव हुन हामीले दिएनौं । यो सबै कर्मचारीहरूले गरेको व्यवस्थापनको परिणाम नै हो । यो महामारीका बेलामा हामीले जनताका घरघरमा अत्यावश्यक वस्तु पुर्याएका छौं । यसबाट हामीलाई आत्मसन्तुष्टी मिलेको छ ।










