काठमाडौं । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भयो । जसमा २४२ यात्रु सवार थिए, भारतीय सञ्चारमाध्यम न्यूज २४ अनलाइनका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको खबर छ ।
विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, ‘अहमदाबाद–लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई १७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ ।’
गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन् । केन्द्र सरकारबाट उनलाई सबै सम्भव सहयोगको आश्वासन दिइएको छ ।










