होमपेज » हेडलाइन » हिमालयन बैंकमा कारोबार गर्ने सेवाग्राहीको विचल्ली

हिमालयन बैंकमा कारोबार गर्ने सेवाग्राहीको विचल्ली

देशैभर विगत १५ दिनदेखि बैंकको सम्पूर्ण सेवाप्रवाह ठप्प

सोमबार, १७ कार्तिक २०८२, ११:४७

काठमाडौं । हिमालयन बैंकमा कारोबार गर्ने सेवाग्राहीहरु अहिले मर्नु न माच्नु पर्ने स्थितिमा पुगेका छन् । बैंकले सिस्टम अपग्रेड गर्नुपर्ने भन्दै कात्तिक ३ गतेदेखि १० गतेसम्म सेवाप्रवाह अवरुद्ध हुने भन्दै सूचना जारी गर्छ । बैंकले सूचनामा १० गतेदेखि सेवाग्राहीलाई सेवाप्रवाह दिने भनेपनि कात्तिक १७ गते आजको दिनसम्म पनि कुनै पनि सेवाप्रवाह गर्न सकेको छैन । यति लामो समयसम्म कारोबार गर्न नसक्दा हिमालयन बैंकका सेवाग्राहीहरु अहिले घरको न घाटको हुन पुगेका छन् ।

 

विगत १५ दिन देखि बैंकको रकम ट्रान्सफर, चेक कारोबार, एटीएम कुनै पनि सेवा नचल्दा बचतकर्ताले न पैसा जम्मा गर्न पाएका छन् न राखेको पैसा झिक्न नै । बैंकले सेवाग्राहीको पैसा नदिंदा बचतकर्ता अहिले ठूलो समस्या झेल्न बाध्य छन् । उनीहरुले आफ्नो सामान्य भन्दा सामान्य समस्या हल गर्न समेत सकेका छैनन् । बैंकले यही दिनमा आफ्नो कारोबार गर्छ भन्नेमा अझै अन्योल छ । बैंकले सिस्टम अपग्रेड गर्नुपर्ने भन्दै १५ दिन अघि सूचना जारी गरेको थियो । बैंकले के कारणले आफ्नो सेवा अवरुद्ध भइसकेको छ, यो दिन देखि सेवा सुचारु हुन्छ भन्ने बारेमा समेत बचतकर्तालाई जानकारीसम्म दिन चाहदैन । ७ दिनको लागि सेवा बन्द हुन्छ भनि पत्र टासेको कार्यालयले १५ दिन वितिसक्दा पनि कुनै वास्ता नगर्नु भनेको सेवाग्राही माथी ठूलो धोका दिनु हो ।

 

हिमालयन बैंकमा कारोबार गर्ने व्यक्तिहरु अहिले बैंकबाट ठूलो धोका पाएको भन्दै आक्रोश पोख्छन् । उनीहरुले बैंककै कारण आफ्ना धेरै काम विग्रिएको, अस्पतालमा विरामी मर्नु पर्ने अवस्थामा पुगेको, व्यवसायीक कारोबारमा ठूलै समस्या झेल्नु परेको भन्दै गुनासो पोख्छन् । उनीहरुले अब हिमालयन बैंकले आफुहरुको विश्वास गुमाएकोले खाता बन्द गरी अर्को बैंकबाट कारोबार गर्ने बताउँछन् । बैंक आफ्ना सेवाग्राहीसँग गैरजिम्मेवार बन्दा अहिले बैंकको विश्वसनिता माथि नै प्रश्नचन्हि खडा भएको छ । जसले गर्दा बैंकको भविश्य नै अब धारासायी नहोला भन्न सकिँदैन ।

 

हिमालयन बैंकको अवरुद्ध सेवा सुचारुको विषयमा बैंकका सूचना अधिकारी सुनिल गोर्खालीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । गोर्खालीलाई सम्पर्क गर्न खोज्दा रिता सिंह बैंककै कर्मचारीले फोन उठाएर आफुलाई पनि बचतकर्ताले पाएको दुःखले नराम्रो लागेको बताउछिन् ।

 

यस विषयमा नियामक निकाय केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले ‘सुरुमा एक हप्ताका लागि भनेर बैंकले नोटिस निकाले पनि पुनः समस्या आएको भन्दै जानकारी दिएको तर, यही दिनमा नै बैंकले सेवा दिन्छ भनि आफुले पनि भन्न नसक्ने बताउँछन् ।’

 

२०४९ सालमा स्थापना गरिएको यो बैंकमा पाकिस्तानको हविव बैंकको शेयर रहेको छ । बैंकको संस्थापक नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जवरा हुन् । अहिले उनकै छोरा अशोक शम्शेर बैंकको सीइओ छन् । हिमालयनमा २० प्रतिशत स्वामित्व रहेको हबिबको अहिले १२.९६ प्रतिशत स्वामित्व छ । केही महिना अघि मात्र हिमालयन बैंकले ९२ लाख ५० हजार कित्ता एफपीओ बिक्री गर्ने अनुमति पाएको थियो । हिमालयन बैंकले ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, मैया श्रेष्ठ बस्नेतको ५ हजार १४१ कित्ता र चिरञ्जीवि लाल अग्रवालको ३ हजार १७१ कित्ता शेयर रहेको छ । तर, बैंकले ग्राहकलाई दिने सेवा राम्रो नहुँदा शेयर विक्रीमा समेत समस्या आएको छ ।

 

बैंककै कारण बचतकर्ताले धनजनको क्षति व्यहोर्नुपर्छ भने त्यसको जिम्मेवारी कसले लिने ? बैंक आफ्ना सेवाग्राहीसँग जिम्मेवार नबन्ने नियमन निकाय त्यसकै पक्षपोषण गर्दै हिड्ने हो भने जनताले कहिले न्याय पाउने ? यस विषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ । नभए बचतकर्ताको आक्रोश बाहिर नआउँला भन्न सकिदैन । ournewscrew.com बाट