होमपेज » आर्थिक » बैंक/वित्त » बौद्धमा प्रभु बैंकको ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम, व्यवसायीलाई वित्तीय साक्षरता

बौद्धमा प्रभु बैंकको ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम, व्यवसायीलाई वित्तीय साक्षरता

शुक्रबार, ६ चैत्र २०८२, ०८:५८

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक’ भन्ने नारासहित ‘ग्लोबल मनि विक–२०२६’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ। सोही अभियानअन्तर्गत बैंकको बौद्ध शाखाले एक दिने ‘एकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम आयोजना गरेको छ।

चैत्र २ गते काठमाडौंको बौद्धस्थित होटल अनुत्तरामा आयोजित कार्यक्रममा सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा संलग्न ४७ जना व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूलाई वित्तीय सेवा उपयोग गर्दा आवश्यक पर्ने प्रक्रिया, कागजात तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न आवश्यक योग्यता सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममार्फत व्यवसायीहरूलाई औपचारिक वित्तीय प्रणालीसँग जोड्दै उनीहरूको वित्तीय पहुँच सहज बनाउने लक्ष्य लिइएको बैंकले जनाएको छ। यस किसिमका कार्यक्रमले व्यवसाय सञ्चालनमा पारदर्शिता, लेखा व्यवस्थापन क्षमता तथा दीगो वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रभु बैंकले हाल देशभर फैलिएका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले गुणस्तरीय तथा प्रभावकारी बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ।

बैंकका अनुसार ‘ग्लोबल मनि विक–२०२६’ अवधिभर देशका विभिन्न स्थानमा यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछन्।