काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चैत २६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागेको हो।
कम्पनीलाई जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति प्राप्त भएको थियो। यसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दाका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।
यस्तै, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता सेयर पनि वितरण भइसकेको छ। अब बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति चैत ३० गते तोकिएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि वैशाख १० गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।










