होमपेज » हेडलाइन » संखुवासभा समाज अमेरिकाको निर्वाचन जुलाई १९ मा, नारायण चन्द्र श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन

संखुवासभा समाज अमेरिकाको निर्वाचन जुलाई १९ मा, नारायण चन्द्र श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन

शुक्रबार, २७ चैत्र २०८२, २१:३४

कोलोराडो, अमेरिका । संखुवासभा जिल्लाबाट अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेका नेपालीहरूको साझा संस्था संखुवासभा समाज अमेरिका (Sankhuwasabha Community of USA) को नयाँ कार्यसमिति चयनका लागि आगामी जुलाई १९, २०२६ मा निर्वाचन हुने भएको छ।

संस्थाको कार्यसमितिको अप्रिल ५ मा बसेको बैठकले निर्वाचन सम्पन्न गर्नका लागि सल्लाहकार श्री नारायण चन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिको सदस्यहरूमा बोर्ड अफ डाइरेक्टर श्री ई. गौलोचन प्रधानश्रीमती सुष्मा श्रेष्ठ रहनुभएको छ।

नयाँ नेतृत्व र पदहरू: निर्वाचनले आगामी कार्यकालका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित २१ सदस्यीय कार्यसमिति चयन गर्नेछ। जसमा पब्लिक रिलेसन अफिसर, प्लानिङ अफिसर, इभेन्ट अफिसर, टेक्निकल अफिसर र ८ जना बोर्ड अफ डाइरेक्टरहरू रहने निर्वाचन समितिले जनाएको छ।

सदस्यता सम्बन्धी प्रावधान: निर्वाचनलाई व्यवस्थित बनाउन संस्थाले जुन १ देखि जुलाई १९, २०२६ सम्म नयाँ सदस्यता वितरण स्थगित गर्ने निर्णय गरेको छ। निर्वाचन सम्पन्न भएको भोलिपल्ट अर्थात् जुलाई २० देखि पुनः सदस्यता खुल्ला गरिनेछ।

वर्तमान कार्यसमितिको पदावधि २०२६ जुलाईमा समाप्त हुने भएकाले नवनिर्वाचित समितिले अगस्ट १, २०२६ देखि आफ्नो कार्यभार सम्हाल्नेछ। संखुवासभालीहरूको एकता र हितका लागि क्रियाशील यो संस्थाले छिट्टै निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।