होमपेज » आर्थिक » ढल्केश्वर महादेव परिसरमा हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ५०० वृक्षरोपण

ढल्केश्वर महादेव परिसरमा हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ५०० वृक्षरोपण

सोमबार, ४ जेष्ठ २०८३, १२:५९

काठमाडौं ।हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा बिरुवा रोपेको छ । लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा मञ्चद्वारा सञ्चालन भइरहेको देशव्यापी ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ अन्तर्गत कम्पनीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत २०० वटा आँप तथा १५०/१५० वटा अमला र कागतीका बिरुवा खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

 

विश्व जैविक विविधता सप्ताह २०२६ को अवसरमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ सहित कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा National Trust for Nature Conservation का सदस्यसचिव डा. चिरञ्जिवी प्रसाद पोखरेल, ढल्केश्वर महादेव वैदिक सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष राजकुमार थापा तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वृक्षरोपण केवल औपचारिकतामा सीमित नभई वातावरणीय सन्तुलन कायम राख्न, स्वच्छ वातावरण निर्माण गर्न तथा स्थानीय क्षेत्रमा हरियाली विस्तार गर्न महत्वपूर्ण हुने बताइन् । उनले यस्ता अभियानले जैविक विविधता संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिन आग्रह गरिन् ।

 

मञ्चका संस्थापक एवं अध्यक्ष बासु गौतमका अनुसार देशभरका स्थानीय तह, सामुदायिक विद्यालय, मन्दिर तथा प्रयोगविहीन खाली जग्गाहरूमा स्थानीय समुदायको सहभागितामा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत फलफूलका बिरुवा तथा धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेका रैथाने प्रजातिका रुखहरूको रोपण र संरक्षणमा विशेष जोड दिइँदै आएको छ ।