होमपेज » Uncategorized » पोखराको फिर्केखोला अतिक्रमण हटाउने अभियान तीव्र: दुई दिनमै ५१ संरचनामा चल्यो डोजर

पोखराको फिर्केखोला अतिक्रमण हटाउने अभियान तीव्र: दुई दिनमै ५१ संरचनामा चल्यो डोजर

मंगलवार, १२ जेष्ठ २०८३, १५:३३

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोला क्षेत्रको अतिक्रमण हटाएर खोलाघर खाली गर्ने अभियानलाई तीव्रता दिएको छ। आइतबारदेखि सुरु भएको यस अभियानअन्तर्गत पहिलो र दोस्रो दिनमा मात्रै साना–ठुला गरी ५१ वटा संरचनाहरू भत्काइएका छन्।

महानगरपालिकाका अनुसार दोस्रो दिन (सोमबार) मात्रै ३१ वटा संरचनामा डोजर चलाइएको छ। जसअन्तर्गत वडा नम्बर १८ र २ को सिमानामा ६ वटा, वडा नम्बर ४ र ५ मा ९ वटा तथा वडा नम्बर ८ स्थित राधाकृष्ण सामुदायिक भवनसहित १५ वटा संरचनाहरू हटाइएको छ।

अभियानमा जनशक्ति र उपकरण परिचालन अतिक्रमण हटाउने यस बृहत् कार्यका लागि ३ वटा जेसीबी र २ वटा एक्स्काभेटर प्रयोगमा ल्याइएको छ। त्यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, महानगर प्रहरी र प्राविधिक टोलीसहित कुल ४ सय ३४ जना जनशक्ति प्रत्यक्ष रूपमा फिल्डमा खटिएका छन्। महानगरपालिकाले कार्यस्थलमा भिडभाड नगर्न र काममा कुनै पनि प्रकारको अवरोध नपुर्‍याउन सर्वसाधारणलाई विशेष आग्रहसमेत गरेको छ।

भग्नावशेषको तत्काल व्यवस्थापन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खोलाको प्राकृतिक बहावलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यले यो अभियान सुरु गरिएको बताउनुभयो। यस कार्यमा स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षा निकायको पूर्ण साथ प्राप्त भइरहेको उहाँले जानकारी दिनुभयो।

संरचना भत्काउँदा निस्कने भग्नावशेषले खोला थुनिने र जोखिम बढ्ने जनचासोलाई सम्बोधन गर्दै मेयर आचार्यले भग्नावशेषको तत्काल व्यवस्थापन गर्न थालिएको स्पष्ट पार्नुभयो। यसका लागि अँधेरीकुनादेखि नै एक्स्काभेटरसहितको प्राविधिक टोली खटाइएको र खोलाको बाटो अवरुद्ध नहुने गरी व्यवस्थापनको काम भइरहेको उहाँको भनाइ छ।

पर्यटकीय करिडोरका रूपमा विकास गरिने फिर्केखोला क्षेत्रलाई पूर्ण रूपमा अतिक्रमणमुक्त गरिसकेपछि यसलाई पोखराको नयाँ र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने महानगरको दीर्घकालीन योजना छ। मेयर आचार्यले यस क्षेत्रलाई प्राकृतिक खोलाका रूपमा मात्र नछाडी साइकल लेन, फुटपाथ (पैदल मार्ग), हरियाली प्रवर्द्धन र आधुनिक बत्ती (लाइटिङ) जडित सुरक्षित करिडोरका रूपमा निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।