होमपेज » हेडलाइन » घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा : घोराहीमा पाठेघर परीक्षणबाट सयौँ महिलाले पाए नयाँ जीवन

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा : घोराहीमा पाठेघर परीक्षणबाट सयौँ महिलाले पाए नयाँ जीवन

आईतवार, २१ असार २०८३, १७:१२

दाङ   । घरायसी कामको चटारो र चेतनाको अभावले अस्पतालको ढोकासम्म पुग्न नसकेका दाङको घोराहीका महिलाहरूका लागि स्थानीय सरकारले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर वरदान साबित भएको छ। विशेषगरी पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान (स्क्रिनिङ) गरी सयौँ महिलालाई अकाल मृत्युबाट जोगाउन घोराही उपमहानगरपालिका सफल भएको छ। घरछेउमै निःशुल्क स्वास्थ्य उपचार पाउन थालेपछि घोराहीका महिलाको समग्र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आउन थालेको हो ।

 

घोराही उपमहानगरपालिका–११, शिवपुरकी ६० वर्षीया वृद्धा लामो समयदेखि तल्लो पेट, ढाड र कम्मर दुख्ने समस्याले पिरोलिएकी थिइन्। घरको कामले फुर्सद नपाएर अस्पताल जान नसकेकी उनले आफ्नै घरआँगनमा उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको स्वास्थ्य शिविरमा जँचाउने मौका पाइन्। परीक्षणका क्रममा उनको पाठेघरमा घाउ भएको पत्ता लाग्यो । स्वास्थ्यकर्मीले सम्झाइबुझाई गर्दै औषधि दिएर पठाएपछि उनी अहिले रोग निको हुनेमा ढुक्क छिन्। त्यस्तै, घोराही–१३, कलमघारीकी ६३ वर्षीया महिला पनि पिसाब नरोकिने, ढाड र जीउ दुख्ने तथा खान मन नलाग्ने समस्याले ग्रस्त थिइन्। अस्पताल जाने फुर्सद नमिलेको बताउने उनी पनि गाउँमै आएको शिविरमा उपचार र औषधि पाएपछि निकै खुसी भएकी छन् ।

 

यी त केवल प्रतिनिधि पात्र मात्र हुन्। घोराही उपमहानगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार पछिल्लो चार वर्षमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ। उपमहानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविर र क्लिनिकमार्फत यस अवधिमा १६ हजार ७४१ जना महिलाको पाठेघर परीक्षण गरेको छ, जसमध्ये ४८८ जनामा क्यान्सरको शङ्कास्पद लक्षण फेला परेको छ। तथ्याङ्कलाई हेर्दा, आर्थिक वर्ष २०७९/८० मा ५ हजार ८०९ जनाको परीक्षण गर्दा ११६ जनामा, आव २०८०/८१ मा ३ हजार ६६५ जनाको जाँच गर्दा ८८ जनामा र आव २०८१/८२ मा ५ हजार २६० जनाको परीक्षण गर्दा १६४ जनामा क्यान्सरको पोजेटिभ लक्षण देखिएको थियो। यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ मा २ हजार ७ जनाको पाठेघर जाँच गर्दा १२० जनामा पोजेटिभ देखिएको छ ।

 

समयमै समस्या पत्ता लाग्दा उपचार खर्च पनि कम लाग्ने र बिरामीलाई पूर्ण रूपमा निको पार्न पनि सहज हुने भएकाले महिलाहरूलाई सजग गराउँदै लगिएको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले बताइन् । उनका अनुसार अहिले उपमहानगरले गाउँगाउँमा शिविर सञ्चालन गर्नुका साथै नियमित रूपमा हरेक बिहीबार संस्थागत परिवार नियोजन क्लिनिक र हरेक महिनाको पहिलो सोमबार लक्ष्मीपुर स्वास्थ्यचौकीबाट पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने व्यवस्था मिलाएको छ। गम्भीर अवस्था देखिएका बिरामीलाई भने थप उपचारका लागि सुविधासम्पन्न अस्पतालहरूमा रिफर गर्ने गरिएको छ।

 

घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीको विशेष पहलमा यो अभियान सुरु भएको हो। दैनिकजसो क्यान्सरपीडित महिलाहरू आफ्नो कार्यकक्षमा सहयोग माग्न आउन थालेपछि रोग लागेर उपचार गर्नुभन्दा समयमै पत्ता लगाउने अभियान थाल्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उपप्रमुख डिसीले बताइन्। आर्थिक वर्ष २०७९/८० देखि थालिएको यस अभियानले ल्याएको परिवर्तनप्रति उनी सन्तुष्ट छिन् । केहीलाई बचाउन नसकिए पनि समयमै जाँच गराएर उपचार गर्दा धेरैले नयाँ जीवन पाएको बताउँदै उनले महिलाको स्वास्थ्य संरक्षणका लागि पाठेघरको मुखको क्यान्सर जाँच अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।