सिराहा । देशमा कोरना कहरको आतंक छ । बिरामी परेका जनताले उपचार नपाएर मर्नु परिरहेको छ । अक्सिजनको हाहाकार छ । देशमा सरकार छ छैन जनताले महसुस गर्न पाएका छैनन् ।
यस्तो अवस्थामा पनि सशस्त्र प्रहरीका केही अधिकृतहरू भने तस्करी गराएर घुमुवा परिचालन गरि रकम असुलीमा नै व्यस्त रहेका छन् । यसको ज्वलन्त उदाहरण सिराहाको बडहरी स्थित बेशक्याम्पको असुली धन्दाले उजागर गरेको छ । उक्त वेशक्याम्पका निरीक्षक सुर्य प्रसाद धमलाले दुई जना सिपाही परिचालन गरि रकम असुली गरिरहेका छन् ।
उनले रवीन्द्र बराल र भरत महत्तोलाई परिचालन गरेर असुली गरिरहेका छन् । बडहरीबाट लाहान जाने ना ३ ख ३१३२ र ८४६२ नम्बरको बसमा लाखौंको रजनीगन्धा, खानेतेल चिनी, सूर्ति, दाल लगायतका सामानको तस्करी हुँदै आएको छ । निरीक्षकले रन्जित यादवलाई तस्करीको लाइन दिएका छन् ।
त्यही तस्करीको सामान उक्त बसबाट ओसारिने गरिन्छ । भारतबाट नेपाल तर्फभने अशोक यादवले कपडाको, रमेश यादवले एल्वेस्टरको तस्करीको लाइन पाएका छन् । त्यसैगरी नेपालबाट भारत तर्फ लक्षमण यादव र महाराजजीको डिजेल तस्करी सशस्त्रको संरक्षणमा भैरहेको छ । दिपु यादव र गंगाराम यादवलाई सशस्त्र प्रहरीले ठूलो रक्सी तस्करीको लाइन दिएका छन् ।
चाइनिज स्याउको तस्करीको लाइन सन्तोष यादव र छेदी यादवले पाएका छन् । यो तस्करीको समुहले मासिक दस लाख रूपैयाँ दिएर तस्करीको लाइन पाएको समेत उजागर भएको छ ।










