होमपेज » समाचार » संक्रमितको शव जलाउन अवरोध

संक्रमितको शव जलाउन अवरोध

मंगलवार, २८ बैशाख २०७८, १९:००

विराटनगर । धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । आज अस्पताल प्रशासनले शव बुझ्न बोलायो । आफन्त र स्थानीय जनप्रतिनिधि अन्त्येष्टिका लागि घाट खोज्न थाले । तर विडम्बना धरानका घाटले शव जलाउन अनुमति दिएनन् ।

 

धरानमा दुईवटा शव दाहसंस्कार स्थल छन् । खत्री धारा घाट र बौद्ध दाहसंस्कार स्थलले नदिएपछि उनीहरुले चतरा र इटहरीमा सम्पर्क गरे । कोरोना संक्रमितको शव भनेपछि चतरा र इटहरीले धरानमै दाहसंस्कार गर्नु भनेको उनीहरुले बताए ।

 

बिहानभर खोज्दा सुनसरीमा घाट नपाएपछि आज दिउँसो विराटनगर ल्याएर उनको अन्त्येष्टि गरिएको छ । सोमबार राति मृत्यु भएका व्यक्तिको आज दिउँसो विराटनगरको परोपकार घाटमा अन्त्यष्टि गरिएको धरान उपमहानगरपालिका–३ का वडा सदस्य विकास बनेपालीले बताए ।

 

‘अस्पतालमा शव राखेर घाट खोज्यौं, सुनसरीमा नपाइएपछि विराटनगर लगियो,’ उनले भने, ‘यहाँ त मानवता नै हरायो ।’ नेपालीले धरान र चतराको घाटमा शव अन्त्येष्टिका लागि ठाउँ दिन आग्रह गरेका थिए ।

 

तर तीनवटै घाट व्यवस्थापन समितिले अनुमति नदिएको उनले बताए । ‘धरान र चतराको अनुमति नदिएपछि साथीहरुले इटहरीमा सम्पर्क गर्नुभयो,’ उनले भने, ‘कोरोना संक्रमितको शव भनेपछि धरानमै अन्त्येष्टि गर्नु भन्ने जवाफ दिएपछि विराटनगर लगेर आफन्तले दागबत्ती दिएका थिए ।’