काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन् । आज निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेक जाँचलाई पनि कडा बनाइएको बताएका हुन् ।
अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको उनले दाबी गरे ।
उनले भने– ‘नियमित रुपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौँ । हामीले विभिन्न कामको चेक गर्दै अहिले नागढुंगा नाकामा आइसकेका छौँ । अत्यावश्यक गाडी बाहेक अरु कुनैपनि चलेको अवस्था छैन । निषेधाज्ञा पूर्ण पालना भएको छ । कार्यान्वयन भएको छ ।
चेक जाँचलाई कडा बनाइएको अवस्था छ । यो अवधिमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना सबैको संयोजनमा प्रभावकारी रुपमा नै कार्यसम्पादन गरेको अवस्था छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिलाई ६ लाख जरिवाना गरिसकेको छ । अहिलेसम्म ३० हजार गाडीहरु होल्डिङमा परेको अवस्था छ ।’










