होमपेज » समाचार » प्रदेश १ : आज बजेट सार्वजनिक गर्दै

प्रदेश १ : आज बजेट सार्वजनिक गर्दै

मंगलवार, १ असार २०७८, ११:१६

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रस्तुत गर्दैछ । प्रदेश १ सरकारले आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्कबुहाङले बजेट प्रस्तुत गर्नेछन् ।

 

स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले आगामी आर्थिक बर्षको लागि करिब ३२ अर्बको हाराहारीमा बजेट प्रस्तुत गर्दैछ । प्रदेश १ सरकारले यसपटक ठूला नयाँ योजना विहीन बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारको बजेट बिशेष ९० प्रतिशत स्रोत संघीय सरकारको अनुदानमा आश्रित रहेको छ ।

प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेट स्रोत सुनिश्चितताको आधार भन्दा माथि उठेर बजेट निर्माण गरिदाँ बजेट कार्यान्वयनमा समस्या भएपछि आगामी आर्थिक बर्षका लागि स्रोत सुनिश्चितताले आधार मापदण्ड तय गरेर बजेट निर्माण गरेको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार संघीय सरकारले दिने विभिन्न अनुदान, राजश्व तथा रोयल्टी बाँडफाँड तथा आन्तरिक गरी सबै स्रोतबाट प्रदेशसँग ३० देखि ३१ अर्ब हाराहारीको निश्चित स्रोत छ । जसमध्ये करिब २२ अर्बभन्दा बढी रकम बहुवर्षीय र स्रोत सुनिश्चित भइसकेका आयोजनालाई नै भुक्तानी गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

 

चालु आर्थिक वर्षकै करिब ११ अर्ब रूपैयाँ बहुवर्षीय र स्रोत सुनिश्चित भइसकेका आयोजनाको भुक्तानी बाँकी छ । आगामी आर्थिक बर्षमा पनि बहुवर्षीय र स्रोत सुनिश्चित भइसकेका आयोजनाका शीर्षकको करिब ११ अर्ब भुक्तानी दायित्व थपिने वाला छ। तर सरकारले चालु वर्षमा यो दायित्व २३ अर्ब जतिबाट घटाए लगभग ११ अर्बमा झरेको छ ।

मन्त्रालय सूत्रका अनुसार प्रदेश सरकारका आर्थिक स्रोतहरु सिमित छन् । जसमा मुख्यत राजश्व बाँडफाँडबाट ९ अर्ब ६० करोड हाराहारी आउने अनुमान प्रदेश सरकारको छ । आन्तरिक राजश्व ४ अर्बदेखि ४ अर्ब २५ करोड, रोयल्टीबाट २५ करोड आउने अनुमान छ । १४ देखि १४ अर्ब २० करोडसम्म आउने अनुमान गरिएका यी स्रोतसहित गरेर प्रदेशसँग स्रोत निश्चित भएको कूल आय ३० देखि ३१ अर्ब हाराहारीको छ ।