होमपेज » समाचार » सरकारले शेयर बजारबाट साउनमा कमायो साढे तीन अर्ब

सरकारले शेयर बजारबाट साउनमा कमायो साढे तीन अर्ब

आईतवार, २० भाद्र २०७८, १६:३८

सुवास निरौला
सरकारले शेयर बजारबाट मात्रै साउनमा अहिले सम्मकै सर्वाधिक रकम आम्दानी गरेर नयाँ रेकर्ड कायम गरेको छ।केन्द्रीय निक्षेप प्रणाली(सीडिएससि)का अनुसार साउनमा मात्रै सरकारले तीन अर्ब २४ करोड ६९ लाख ४ हजार सात सय ४२ रुपैयाँ शेयर बजारबाट प्राप्त हुने पूँजीगत लाभकर मार्फत आम्दानी गरेको हो ।

 

यस अघि सरकारले एकै महिनामा यति धेरै मात्रामा पूँजीगत लाभकर कहिल्यै प्राप्त गरेको थिएन । यो अहिलेसम्म एकै महिनामा उठेको सर्वाधिक पूँजीगत लाभकरको रेकर्ड हो । सरकारले चालु आर्थिक वर्षबाटै लाभकर बढाएको थियो। पूँजीगत लाभकर बढाएको कारण सरकारले साउनमा सर्वाधिक पूँजीगत लाभकर सङ्कलनमा सफलता प्राप्त गरेको हो । गएको साउन देखि शेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकरलाई दीर्घकालीन र अल्पकालीन गरिएको थियो । सोही आधारमा लाभकर समेत फरक फरक गरिएको छ ।

 

साउन यता एक वर्षको अवधि भित्रै शेयर बिक्री गरी लाभ प्राप्त गर्नेलाई अल्पकालीन र एक वर्ष भन्दा बढी अवधिमा शेयर बिक्री गर्नेलाई दीर्घकालीन लगानीकर्ताको रुपमा वर्गीकरण गरिएको छ । सर्वसाधारण लगानीकर्ताले अल्पकालीन शेयर कारोबार गरेर लाभ प्राप्त गर्नेले साढे सात प्रतिशत र सो भन्दा बढी अवधिमा प्राप्त लाभमा पाँच प्रतिशत लाभकर बुझाउँदै आएका छन् ।

 

यो अवधिमा छोटो समयमै शेयर बिक्री गर्ने ट्रेन्डको विकासले समेत पूँजीगत लाभकर वृद्धिमा टेवा पु¥याएको बताइएको छ । यति बेला धेरै भन्दा धेरै लगानीकर्ताले छोटो समयको लागि शेयर कारोबार गर्ने गरेका छन्। जानकारहरुका अनुसार बजारमा कारोबार हुने ८० प्रतिशत शेयर कारोबार अल्पकालीन हुने गरेको छ । अल्पकालीन कारोबार बढी हुने र त्यसमा पनि निश्चित क्षेत्रका शेयर मूल्य लगातार बढेका कारण पनि सरकारले लाभकर बढी प्राप्त गरेको हो ।

 

सरकारले पहिलो महिनामै साढे तीन अर्ब भन्दा बढी लाभकर प्राप्त गरेपछि यो वर्षको लाभकरको प्रक्षेपण ४० अर्ब रुपैयाँ गर्न थालिएको छ । यस्तै रेसियोमा लाभकर उठ्दै गएमा चालु आर्थिक वर्ष सरकारले ४० अर्ब रुपैयाँ सम्म पूँजीगत लाभकर प्राप्त गर्न सक्ने अनुमान सिडिएसिले गरेको छ। सरकारले शेयर बजारबाट मात्रै ४० अर्ब रुपैयाँको लक्ष्य प्राप्त गरे मुलुकको राजस्वमा शेयर बजार ठूलो खम्बाको रुपमा खडा हुन सक्ने देखिएको छ । राज्यको नजरमा खासै प्राथमिकतामा नपरेको क्षेत्रले देशको कुल राजस्वमा ठूलो योगदान पु¥याउने आशा गर्न सकिन्छ । सरकार शेयर बजार मैत्री हुँदै गए सरकारको लागि उल्लेख्य राजस्व उठाउन सक्ने उदीयमान क्षेत्रको रुपमा शेयर बजार देखिन सक्ने सीडिएसिको भनाई छ । किनकि शेयर बजारमा जति धेरै रकमको कारोबार हुन्छ त्यति नै धेरै राजस्व प्राप्त हुने गरेको छ । धेरै कारोबार हुनकोलागि बजार स्थायी रुपमा चल्नु पर्ने हुन्छ । तर भदौ लागे यता भने शेयर बजार थोरै खुम्चिएको छ । जसको कारण राजस्वमा पनि थोरै सङ्कुचन आउन सक्ने अनुमान सीडिएसिको छ ।

 

आर्थिक वर्ष २०७६÷७७ सम्म राजस्वमा शेयर बजारको भूमिका निकै न्यून रहेको थियो। उक्त वर्ष जम्मा जम्मी सरकारले ९८ करोड ५२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । तर गत आर्थिक वर्ष सरकारले शेयर बजार बाट मात्रै १४ अर्ब १३ करोड पूँजीगत लाभकर प्राप्त गरेकोमा चालु आर्थिक वर्षको पहिलो महिनामै सरकारले साढे ती अर्बको हाराहारीमा पूँजीगत लाभकर प्राप्त गर्न सफल देखिएको हो ।

 

लाभकर उठाउने सन्दर्भमा सिडिएसिले लगानीकर्तालाई नै प्राथमिकतामा राखेको छ । सिडिएसिले लाभकर गणना फर्स्ट इन फर्स्ट आउट (फिफो) विधि मार्फत गर्ने गर्छ । जसले गर्दा लगानीकर्ताले भरसक बढी लाभकर तिर्नु नपर्ने सिडिएसिका प्रवक्ता सुरेश न्यौपानेले बताए । जस्तै कुनै लगानीकर्ताको डिम्याट खातामा ‘क’ भन्ने कम्पनीको शेयर छ । उसले पुनः त्यही कम्पनीको शेयर किन्यो भने उसको शेयर त्यही खातामा गएर बस्छ । तर लगानीकर्ताले कुन शेयर पहिले किनेको र कुन शेयर पछि किनेको हो भनेर छुट्ट्याउन सक्तैनन् । तर त्यही कम्पनीको शेयर लगानीकर्ताले थोरै बिक्री ग¥यो भने शेयर ट्रान्सफर गर्दा पहिलो मितिमा किनेको शेयर सिडिएसिले राफसाफमा पठाउने गर्छ । जसले गर्दा भरसक पुरानो शेयर राफसाफमा पठाउँदा लगानीकर्ताले अल्पकालीन कर तिर्न नपरोस् भनेर नै सिडिएसिले फिफो विधि अपनाएको न्यौपानेको भनाई छ । मेरो लगानीबाट